संगिताले गरेका ४ उपकरण खरिद घोटाला: दुईवटामा भ्रष्टाचार मुद्दा दायर, दुई अनुसन्धानको दायरामा


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तत्कालीन उपकुलपति डा. संगिता भण्डारीविरुद्ध दुईवटा भ्रष्टाचारका मुद्दा दायर गरिसकेको छ। अख्तियारले संगिताका पालामा भएका ४ ठूला उपकरण खरिद अनियमिततामा अनुसन्धान गरिरहेको छ। त्यसमध्ये दुईवटामा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले ७ करोड ३१ लाख ८२ हजार रुपैयाँभन्दा बढीमा खरिद गरेको सिटी स्क्यान मेसिन घोटालामा भ्रष्टाचार बुधबार मात्र मुद्दा दायर गरेको छ। गत असोजमा एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार मुद्दा लागेकी भण्डारीलाई सिटी स्क्यान घोटालामा पनि भ्रष्टाचार मुद्दा दायर भएको हो। ४ महिनाको अन्तरालमा संगिताविरुद्ध दोस्रो भ्रष्टाचारका मुद्दा दायर भएको छ। भण्डारीसहित १९ जना व्यक्ति र कम्पनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भण्डारी उपकुलपति हुँदा प्रतिष्ठानले लुम्बिनी हेल्थकेयर प्रालिसँग ११ करोड ४५ लाख रुपैयाँमा एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको भनेर ४ महिना अघि नै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। बुधबार अख्तियारले सिटी स्क्यान भ्रष्टाचारको दोस्रो मुद्दा दायर गरेको हो।

अख्तियारले संगिताले गरेको ३ करोड १४ लाख रुपैयाँ बढीको अक्सिजन जेनेरेटर प्लान्ट खरिद र २ करोड बढीमा खरिद गरेको ट्रान्सफर्मर घोटालामा अनुसन्धान गरिरहेको छ। अख्तियार स्रोतका अनुसार भ्रष्टाचारको आहालमा डुबेकी संगितामाथि आधा दर्जन भ्रष्टाचारका मुद्दा दायर हुने सम्भावना छ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ