१२औँ तहको अतिरिक्त स्वास्थ्य सचिव बढुवा प्रक्रिया तत्काल अगाडि नबढ्ने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२औँ तह) पदको बढुवा प्रक्रिया तत्काल अगाडि नबढ्ने देखिएको छ। अतिरिक्त सचिवहरूलाई बस्ने कोठा, सचिवालय, सवारीसाधनलगायत आधारभूत पूर्वाधारको व्यवस्थापन नटुंगिँदा प्रक्रिया अन्योलमा परेको मन्त्रालय स्रोतले जनाएको छ।

अतिरिक्त सचिवलाई राख्ने ठाउँको टुंगो नलाग्दासम्म बढुवा प्रक्रिया अगाडि बढाउन कठिन छ। “विज्ञापन त निकालियो, तर नियुक्ति भएपछि बस्ने कोठा, सचिवालय र गाडीको व्यवस्था छैन,” मन्त्रालयका एक अधिकारीले भने, “त्यसैले प्रक्रिया तत्काल निष्कर्षमा पुग्ने अवस्था छैन।”

जेन्जी आन्दोलनका क्रममा पुरानो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन पूर्ण रूपमा क्षति भएपछि मन्त्रालय हाल सिंहदरबारभित्र कन्टेनरका डब्बामा सीमित छ। यही संरचनात्मक संकटका कारण उच्च तहका पदहरूमा नियुक्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको मन्त्रालयको भनाइ छ।

नियमअनुसार बढुवाका लागि विज्ञापन जारी भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। तर, आवश्यक भौतिक तथा प्रशासनिक तयारी नहुँदा मन्त्रालयलाइ समयमा नतिजा निकाल्न सकस भएको छ ।

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीले दुई वर्ष पदावधि बाँकी छँदै गत कात्तिक १९ गते राजीनामा दिएपछि मन्त्रालयमा एक पद रिक्त भएको हो। सोही रिक्त पदमा आन्तरिक बढुवामार्फत पदपूर्ति गर्ने उद्देश्यले मन्त्रालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर आवेदन आह्वान गरेको थियो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ