ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउनेमाथि महानगरपालिकाबाट निगरानी सुरू


काठमाडौं। ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउनेमाथि महानगरपालिकाले निगरानी सुरू गरेको छ। काठमाडौंमा ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने खेल सुरू भएपछि महानगरले निगरानी सुरू गरेको हो।

प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्याँस छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारवाही गर्ने चेतावनी दिए। नेपाल आयल निगमले ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपियाँ तोकेको छ। उक्त मूल्यमै खरिद विक्री गर्न व्यावसायी र उपभोक्ताहरुमा महानगरले अनुरोध गरेको हो।

महाननगरले हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा सम्पर्क गरेर ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाएको विषयमा अवगत गराउन तथा गुनासोका लागि आग्रह गरेको छ।

‘ग्याँस अभाव हुने आशंका गरेर उपभोक्ताहरुले बढी माग गने गरेको पनि पाइएको छ । यसरी ग्याँस सञ्चिती गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताहरुलाई पनि जिम्मेवारपूर्वक ग्याँस माग गर्नुपर्छ ।’ काफ्लेले भने, ‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्ना आफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।’

पेट्रोल पम्पहरुले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएको भन्दै यसमा पनि निगरानी थालेको महानगरको भनाइ छ। ग्याँस र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइनमा टिपाउन सकिने व्यवस्था मिलाइएको समेत महानगरले जनाएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ