आदर्शसँगको सेटिङमा कार्यकारी अध्यक्ष बन्न चलखेल गरिरहेका अमृतमानद्वारा बायुसेवा निगममा सरूवा आतंक


काठमाडौं। नेपाल बायुसेवा निगमका निमित्त महाप्रबन्धक अमृतमान श्रेष्ठले निगमभित्र सरूवा आतंक मच्चाइरहेका छन्। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको सेटिङमा निगमको कार्यकारी अध्यक्ष बन्न चलखेल गरिरहेका अमृतमानले निगमभित्र सरूवा आतंक मच्चाउन थालेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेर बालेन्द्र शाह (बालेन)को नेतृत्वमा शक्तिशाली सरकार बन्न लागेको छ। भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्ने उद्देश्यले बन्न लागेको सरकारलाई चक्मा दिनेगरी निगमका निमित्त महाप्रबन्धक अमृतमानले जथाभावी सरूवा गर्न थालेका हुन्।

आदर्शले सेटिङमा जनक कालाखेतीलाई हटाएर अमृतमानलाई निगमनको निमित्त महाप्रबन्धक बनाएका थिए। उनै अमृतमानलाई कार्यकारी अध्यक्ष बनाउन आदर्शले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई समेत दबाब दिएको बताइन्छ। आदर्श बालुवाटार बसेरै अमृतमानलाई निगमको कार्यकारी अध्यक्ष बनाउन चलखेल गरिरहेका छन्। निगमको कार्यकारी अध्यक्ष बन्ने भन्दै अमृतमानले लाभ लिएर सरूवा सेटिङ र आतंक मच्चाउन थालेको निगम स्रोतले बतायो।

अमृतमानले सेटिङ गरेको ट्राभललाई टिकट बिक्री नगरेको भन्दै रातारात रिजरभेसन विभागका कर्मचारी सरूवा गरेका छन्। रिजरभेसन म्यानेजर मिमांशा कार्की र रिजरभेसन इन्चार्ज जनक अर्याल र उज्जवल दाहाललाई रातारात सरूवा गरेर नवराज उपाध्यायलाई उक्त जिम्मेवारीमा ल्याएका छन्। युवराज अधिकारी निगमको कार्यकारी अध्यक्ष हुँदा सेटिङ मिलाउन अघि सारिने गरेका उपाध्यायलाई अमृतमानले उक्त विभागमा ल्याएपछि ठूलो हलचल मच्चिएको हो।

निगमको मुख्य आम्दानीको स्रोत भनेको टिकट बिक्रीबाट आउने आम्दानी हो। बिक्रम राई निगमनको निमित्त अध्यक्ष भएसँगै सेटिङमा मस्त रहेका कर्मचारी परिवर्तन गरेर नयाँ ल्याएका थिए। सेटिङ गर्ने कर्मचारी हटाएपछि निगमको जहाजमा यात्रुको संख्या ह्वात्तै बढेको थियो। यात्रु संख्या बढेसँगै निगमको आम्दानीमा समेत वृद्धि भएको थियो। तर, निमित्त महाप्रबन्धक अमृतमानले आफूले भनेको ट्राभललाई टिकट नदिएको भन्दै आम्दानी बढाउन भूमिका खेल्ने कर्मचारी परिवर्तन गरेका हुन्। निगमको कार्यकारी अध्यक्ष बन्ने दौडधुपमा रहेका अमृतमानले टिकटमा सेटिङ गरेपछि निगमभित्र तरंग मच्चिएको छ।

विवाद हुने डरले पर्यटनमन्त्री सिन्हाले अमृतमानलाई निगमको कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लान सकेका छैनन्। तर, कार्यकारी अध्यक्ष आफै बन्ने भनेर अमृतमानले निगमभित्र व्यापक चलखेल गरिरहेका छन्। अमुक ट्राभललाई सस्तोमा टिकट नदिएको भन्दै अमृतमानले कार्की, अर्याल र दाहाललाई सरूवा गरेर उपाध्यायलाई ल्याएपछि निगमभित्र ठूलो आर्थिक चलखेल भएको आशंका हुन थालेको छ।

स्रोतका अनुसार अमृतमानले ती कर्मचारीलाई केही ट्राभलको नाम लिएर सस्तोमा टिकट उपलब्ध गराउन दबाब दिएका थिए। तर, उनीहरूले निगमलाई घाटा हुनेगरी काम नगर्ने भनेपछि अमृतमानले आफ्नै आईडी प्रयोग गरेर रातीको समयमा केही ट्राभललाई सस्तोमा टिकट बिक्री गरेको स्रोतको दाबी छ। नवराज उपाध्यायलाई प्रयोग गरेर अमृतमानले ट्राभलहरूलाई ‘सिस्टम’भन्दा धेरै सस्तोमा टिकट उपलब्ध गराएको निगमका कर्मचारीहरू बनाउँछन्। उक्त विषयमा पर्यटन मन्त्रालयले तत्काल छानबिन गर्नुपर्ने निगमका कर्मचारीहरू आवाज उठाउन थालेका छन्। पर्यटन मन्त्रालय अमृतमानका अगाडि यी बेथितिका विषयमा मुकदर्शक बनेको छ।

बजार व्यवस्थापन विभाग प्रमुख अनिल घिमिरे समेत अमृतमान र नवराजको सेटिङ टुलुटुलु हेरेर बसिरहेको आरोप लाग्न थालेको हो। घिमिरे परिवर्तन गर्न सक्ने कर्मचारी भएपनि यस्तो अवस्थामा उनी मुकदर्शक बन्नु आश्चर्यको विषय भएको निगमका कर्मचारीहरू बताउँछन्।

अमृतमानले युवराज अधिकारीका विश्वासपात्र नवराज उपाध्यायलाई एकैपटक सेल्स र रिजरभेसन महाशाखा प्रमुख बनाएर ट्राभलसँग सेटिङ मिलाएपछि काम गरिरहेका कर्मचारी विस्थापित भएका छन्। रिजरभेसनमा लामो समयदेखि रजगज गर्दै आएका कर्मचारीलाई सरोज घिमिरेलाई नहटाइ ३ महिना नपुगी केही कर्मचारीलाई सरूवा गरिएको विषयले निगमभित्र सेटिङ चलिरहेको आशंका उत्पन्न भएको छ। छोरालाई निगमभित्रै करारमा जागिर खुवाएका अमृतमानले टिकटमै कर्मचारी फेरेर ट्राभलसँग सेटिङ मिलाउन थालेपछि बालेन सरकारमाथि समेत चुनौती देखिएको हो। उक्त विषयमा तत्काल नयाँ सरकारले एक्सन लिन जरूरी देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ