अस्पतालमा आइतबार बिदा लागु नहुने
काठमाडौँ — सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य क्षेत्रमा सेवा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चरणबद्ध छलफल भइरहेको थियो। सोही सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारका दिन सेवा सञ्चालनबारे स्पष्ट निर्णय सार्वजनिक गरेको छ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न आइतबार पनि OPD सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार OPD सेवा खुला राख्नुपर्नेछ। यसका लागि कर्मचारी व्यवस्थापनमा लचकता अपनाउँदै बिदा व्यवस्थापन गर्न पनि भनिएको छ।
विज्ञप्तिमा कर्मचारीहरूलाई शनिबारबाहेक अन्य एक दिन बिदा दिने गरी समायोजन गर्न सकिने तथा लगातार दुई दिन बिदा दिन नसकिने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, प्रदेश अन्तर्गतका अस्पतालहरूमा समेत यही व्यवस्था कार्यान्वयन गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले दुई दिन बिदा कार्यान्वयनमा ल्याएसँगै स्वास्थ्य सेवामा असर नपर्ने गरी वैकल्पिक मोडेल खोज्ने प्रयासस्वरूप यो निर्णय गरिएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस