स्वास्थ्य लाइभ फलोअप

बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका शैलुङले कोभिडको मौका छोपेर गरेको निकृष्ट काम 


काठमाडौं । शैलुङ गाउँपालिकालाई बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका बनाएको भन्दै गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बागमती प्रदेश सरकारबाट पुरस्कार थापे ।

बागमती प्रदेश सरकारको कार्यसम्पादन मूल्यांकनलगायत विभिन्न सूचकका आधारमा शैलुङलाई बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाका रुपमा सरकारले पुरस्कृत गरेको हो । तर कोभिडको मौका छोपेर शैलुङ गाउँपालिकाले प्रदेश सरकारको लगानीमा बन्दै गरेको गोलघर हिनामिना गरेको पुरस्कृत गर्ने प्रदेश सरकारले पत्तै पाएन ।

बागमती प्रदेशको उत्कृष्ट गाउँपालिकाको हैसियतमा पुरस्कार थाप्ने शैलुङ गाउँपालिका अध्यक्ष दुलाल र वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष ध्रुव कुमार श्रेष्ठको मिलेमतोमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन संरचना भाडामा लगाएर उत्कृष्ट गाउँपालिकाका जनप्रतिनिधिले निकृष्ट काम गरेको स्वास्थ्य लाइभले फेला पारेको छ ।

बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईको हातबाट पुरस्कार लिँदै दुलाल

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ कार्यभार सम्हालेलगत्तै मन्त्रालय अन्तर्गत पर्ने आयोजनाको निरीक्षण गर्ने शिलशिलामा दोलखा जिल्लाको शैलुङ पुगेका थिए । उनीसँगै रहेका गाउँपालिका अध्यक्ष दुलालले कोभिडको मौकामा प्रदेश सरकारले बनाउँदै गरेको गोलघर भाडामा लगाएको सुइको समेत दिएनन् । स्वास्थ्य लाइभले प्रदेश सरकारले शैलुङमा बनाउँदै गरेको गोलघर कोरोनाकालमै गाउँपालिकाले भाडामा लगाएको खुलासा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ समेत आश्चचर्यमा परेका छन् । उनले यो विषयमा तत्काल छानबिन समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखाको शैलुङमा साढे २ करोड बढी लगानीमा बनाउँदै गरेको पाहुना घर (गोलघर) प्रदेश सरकारलाई थाहापत्तै नदिई शैलुङ गाउँपालिकाले भाडामा लगाएको खुल्न आएको हो । अझ रोचक कुरा त कार्यपालिकाबाट निर्णय गराएर गाउँपालिका अध्यक्ष दुलाल गोलघर भाडामा दिने र वडा नम्बर ३ का वडा अध्यक्ष श्रेष्ठ भाडामा लिने भएर सम्झौतामा हस्ताक्षर गरेको देखिन्छ ।

प्रदेशको लगानीमा बनेको सरकारी भवन गाउँपालिका अध्यक्ष र वडाध्यक्षको मिलेमतोमा भाडामा लाग्दा पनि प्रदेश सरकार वेखबर देखिन्छ । शैलुङले गाउँपालिकाले कोभिडको मौका छोपेर गरेको निकृष्ट काम गर्दा पनि बागमती सरकारले उत्कृष्ट गाउँपालिकाको रुपमा पुरस्कृत गरेको भ्रष्टाचारलाई प्रोत्साहन गरेको पाइन्छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : #गोलघर, #बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, #भरत दुलाल, #शैलुङ गाउँपालिका दोलखा, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com