कोभिडको मौका छोपेर शैलुङ गाउँपालिकाका अध्यक्ष दुलालद्वारा प्रदेशको गोलघर ठेक्कामा

प्रदेशको गोलघर ठेक्का दिने गाउँपालिका अध्यक्ष दुलाल ठेक्का लिने वडाध्यक्ष श्रेष्ठ


काठमाडौं । बागमती प्रदेश सरकारले दोलखाको शैलुङमा बनाउँदै गरेको गोलघर कोभिडको मौका छोपेर शैलुङ गाउँपालिकाका तत्कालीन अध्यक्ष भरतप्रसाद दुलालले निजी कम्पनीलाई ठेक्का लगाएको पाइएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार दोलखा जिल्ला शैलुङ गाउँपालिकाका तत्कालीन अध्यक्ष दुलाल र वडा नम्बर ३ का वडाध्यक्ष ध्रुव कुमार श्रेष्ठको मिलेमतोमा ३० वर्षका लागि उक्त गोलघर ठेक्कामा लगाएको पाइएको हो ।

कार्यपालिकाका सदस्य समेत रहेका श्रेष्ठले प्रदेश सरकारले बनाउँदै गरेको गोलघर निर्माण सम्पन्न नभई मासिक ५१ हजार बुझाउने गरी ठेक्कामा लिएको खुल्न आएको छ ।

प्रदेश सरकारले २ करोड ५३ लाख रुपैयाँ लागतमा बनाउँदै गरेको शैलुङको उक्त गोलघर २०७९ असोजदेखि लागू हुने गरी २०७८ साल मंसिरमै सम्झौता गरेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

प्रदेश सरकारले स्थानीय सरकारलाई कुनै किसिमको हक हस्तान्तरण र निर्माण सम्पन्ननै नगरी गाउँपालिका अध्यक्ष दिने र वडाध्यक्ष लिने भएर उक्त गोलघर हिनामिना गरेको देखिन्छ ।

शैलुङ गाउँपालिकाका तत्कालीन अध्यक्ष दुलालले प्रदेश सरकारले बनाउँदै गरेको उक्त गोलघर ठेक्कामा लगाएको स्वीकार गरे । उनले गाउँ कार्यपालिकाको निर्णय अनुसार प्रदेश सरकारमार्फत निर्माणाधीन गोलघर ठेक्कामा लगाएको बताए ।

निर्माण सम्पन्न नभएको र प्रदेश सरकारले हक हस्तान्तरणनै नगरेको गोलघर के आधारमा ठेक्कामा लगाएको भन्ने प्रश्नमा उनले कार्यपालिकाको निर्णयले दिएको भन्ने जवाफ दिएर उम्किने प्रयास गरे ।

गोलघर ठेक्कामा लगाउने शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल

शैलुङ गाउँपालिकाका कार्यपालिका सदस्य एवं तत्कालीन वडा नम्बर ३ का अध्यक्ष ध्रुव श्रेष्ठले शैलुङको गोलघर आफूले ठेक्कामा पाएको स्वीकार गरे ।

ठेक्का लिने तत्कालीन वडाध्यक्ष ध्रुव श्रेष्ठ

गाउँ कार्यपालिकामार्फत निर्णय गराएर आफूले गोलघर ठेक्कामा लिएको उनको भनाइ छ । तत्कालीन अध्यक्ष दुलाल र वडाध्यक्ष श्रेष्ठको मिलेमतोमा आफैले आफैंलाई ठेक्का दिएर बदमासी गर्ने काम भएको देखिन्छ ।

स्वार्थ बाझिने गरी कार्यपालिकाबाट निर्णय गराएर गाउँपालिका अध्यक्ष दुलाल र वडाध्यक्ष श्रेष्ठले ठेक्का सम्झौतामा हस्ताक्षर गरेर अपूर्ण अवस्थामा रहेको प्रदेश सरकारको गोलघर अपचलन गरेको हुन् ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले ठेक्कामा लगाएको भनिएको गोलघर प्रदेश सरकारकै स्वामित्वमा रहेको र शैलुङ गाउँपालिकालाई हस्तान्तरण नगरिएको स्पष्ट पारे । शैलुङको गोलघरका विषयमा ठेक्का लगाएको विषयमा तथ्य सत्य पत्ता लगाएर एक्सन लिने उनको भनाइ छ ।

शैलुङमा प्रदेश सरकारद्वारा निर्माणाधीन गोलघर अनियमित तवरले ठेक्कामा लगाएको भेटिए आफूले कडा कदम चाल्ने पर्यटनमन्त्री श्रेष्ठले स्पष्ट पारे ।

बागमती प्रदेशका पर्यटन सचिव मदन कोइरालाले उक्त गोलघर सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएर मात्र उचित निर्णय लिइने बताए । गाउँपालिकाले प्रदेशको सम्पत्ति ठेक्कामा लगाएको विषयमा बुझेर मात्र थप प्रतिक्रिया दिने उनको भनाइ छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #ध्रुव श्रेष्ठ, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, #भरत प्रसाद दुलाल, #शैलुङ गाउँपालिका दोलखा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com