स्थानीय तहमा नगइ पुरानै मन्त्रालयमा डेरा जमाएर बसिरहेका शक्तिशाली उपसचिवहरू


काठमाडौं। नेपाल सरकारका केही यस्ता शक्तिशाली उपसचिव रहेका छन् जो सरुवा भएको ठाउँमा नगइ पुरानै मन्त्रालयमा डेरा जमाएर बसेको पाइन्छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएका उनीहरू पहिला कै मन्त्रालयमा डेरा जमाएर बसेको पाइएको हो। सञ्चारकी ममता बाँस्तोला, उद्योगका सरोजकुमार पोख्रेल, भूमिका रोशनशंकर घिमिरे त्यस्ता केही उदाहरण हुन्। उनीहरू शक्तिशाली उपसचिव बनेर बसेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट संखुवासभाको पाँचपखन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खटाएकी ममता बाँस्तोला सरूवा बदर गरेर सञ्चारमै फर्किएको पाइएको छ। लामो समयदेखि सञ्चार मन्त्रालयमा डेरा जमाएर बसेकी ममतालाई स्थानीय तह खटाइएको थियो। तर, उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल र प्रशासन महाशाखा प्रमुख पार्वती शर्मासँग सेटिङ मिलाएर सरूवा बदर गरी सञ्चारमै फर्किएको पाइएको हो।

उपसचिव ममता बाँस्तोला

सञ्चार मन्त्रालयको भन्सार मानिने श्रव्यदृष्य तथा प्रशारण शाखा प्रमुखमा रजगज गरिरहेकी ममतालाई संखुवासभाको पाँचपखन नगरपालिकामा खटाइएको थियो। एमाले निकट कर्मचारी ममता खटाएको ठाउँमा नगइ सञ्चार मन्त्रालयको उक्त शाखा ‘भन्सारमै’ बसिरहको खुल्न आएको छ। सरूवा गरेर हटाए कै शाखामा उनी फर्किनुले सुशासनलाई ठाडो चुनौती दिएको देखिन्छ। बालेन सरकारले उक्त शाखाको सेटिंङ र अनियमिततामाथि छानबिन गर्न जरूरी छ।

उद्योगबाट बैतडीमा पुचौंडी नगरपालिका सरूवा भएका सरोजकुमार पोख्रेलको अर्का शक्तिशाली उपसचिव हुन्। प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका पोख्रेल त सेटिङमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाका निजी सचिव नै बनेर बसे। उद्योग विभाग र मन्त्रालयमामा रजगज गर्दै आएका उपसचिव पोख्रेलले पनि सरूवा भएको स्थानीय तहमा नगइ सरूवा बदर गरेर साबिक कै मन्त्रालय फर्किएका हुन्। उद्योगमै फर्किएर एमाले निकट कर्मचारी पोख्रेलले आफ्नो असली शक्ति देखाइदिएका छन्। आफूलाई कसैले पनि उद्योगबाट हटाउन नसक्ने जस्तो गरेर उपसचिव पोख्रेल त्यहीँ मन्त्रालयमा डेरा जमाएर बसेका हुन्। उनको शक्तिको स्रोत पनि बालेन सरकारले पहिचान गर्न जरूरी देखिन्छ।

उपससचिव सरोजकुमार पोख्रेल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव रोशनशंकर घिमिरे अर्का शक्तिशाली उपसचिव हुन्। भूमिबाट उदयपुरको बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका घिमिरे अहिले भूमि मन्त्रालयमै फर्किएका छन्। उनी भूमि व्यवस्था मन्त्रालयको जग्गा प्रशासन शाखामा डेरा जमाएर बसेका छन्। गिरीबन्धु ‘टि-इस्टेट’ जग्गामा नीतिगत घोटाला गर्ने ‘आर्किटेक्ट’ भनेर परिचित घिमिरे भूमिका हर्ताकर्ता उपसचिव हुन्। उनी अहिले पनि भूमिमै रजगज गरिरहेका छन्। बालेन सरकारले गिरीबन्धुको फाइल खोल्नुभन्दा पहिला नै उपसचिव घिमिरेलाई भूमि व्यवस्था मन्त्रालयबाट अन्यन्त्र व्यवस्थापन गर्न आवश्यक देखिन्छ।

शिक्षाबाट सुनसरीको इनरुवा नगरपालिकामा सरूवा अनिता कोइराला, राष्ट्रिय योजना आयोगबाट भोजपुरको षडानन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका दिवाकर लुईंटेल पनि पुरानै ठाउँमा डेरा जमाएर बसेका छन्। यस्ता शक्तिशाली कर्मचारीसँग राज्य समेत निरीह बनेको देखिन्छ।

क्याटेगोरी : विविध
ट्याग : #पुरानै मन्त्रालयमा डेरा जमाएका शक्तिशाली उपसचिव, #ममता बाँस्तोला, #रोशनशंकर घिमिरे, #सरोज कुमार पोख्रेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ