स्थानीय तहमा भएको सरूवा मिलाएर संघमै बस्ने शक्तिशाली उपसचिवहरू फेरि नगरपालिका पठाइए


काठमाडौं। उपसचिव मोहन निरौलाको करिब ८ महिना अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेह्रथुमको लालीगुराँस नगरपालिकामा सरूवा भएको थियो। टेरामक्स घोटालाका ‘नाइके’ मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री हुँदा निजी सचिव बसेका निरौला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट लालीगुराँस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए। तर, उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख पार्वती शर्मासँग सेटिङ मिलाएर युवा तथा खेलकुद मन्त्रालयमा पुगे। ८ महिना अघि स्थानीय तहमा पठाउँदा सेटिङ मिलाएर सिंहदरबारमै बस्ने उपसचिव निरौला अहिले फेरि सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ। स्थानीय तहमा नगइ संघमै सरूवा मिलाएर बस्ने शक्तिशालि उपसचिव निरौला ८ महिनामै स्थानीय तहमा पठाइएका हुन्।

रक्षा मन्त्रालयबाट ८ महिना अघि दार्चुलाको महाकाली नगरपालिका पठाइएका अनुप केसी सेटिङमै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त बसेर दाउ हेरिरहेका थिए। अहिले उनै शक्तिशाली उपसचिव केसीलाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।

राजस्व अनुसन्धान विभागमा बसेर लामो समय रजगज गरेका उपसचिव नवराज अधिकारी रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए। राजस्व अनुसन्धान विभागका प्रशासनका उपसचिवको दरबन्दी कटौती भएपछि अधिकारीलाई स्थानीय तह पठाइएको थियो। तर, राजस्वमा रजगज गरिरहेका शक्तिशाली उपसचिव अधिकारीले सेटिङमा रक्षा मन्त्रालय सरूवा मिलाए। रक्षा पुगेर आफ्नो कुर्सीको सुरक्षा गर्न नसककेका उपसचिव अधिकारी अहिले बाराको सिम्रौनगढ नगरपालिकामा पठाइएका छन्। शक्तिशाली उपसचिव अधिकारीलाई ऐतिहासिक सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाएर सरकारले त्यहाँको इतिहास बुझ्ने अवसर दिएको छ।

८ महिना अगाडि रौतहटको माधव नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका उपसचिव शेखर पौड्याल सरूवा बदर गराएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बसेका थिए। उनी अहिले पर्साको पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका छन्। एयरपोर्टको डाँडामा ‘उग्राएर’ बसेका पौड्यालको फेरि स्थानीय तहमै सरूवा भएको हो।

उपसचिव राजु कुँवर ८ महिना अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए। उक्त सरूवा संशोधन गराएर उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका थिए। अहिले फेरि उपसचिव कुँवर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका छन्। उपसचिव कुँवरको सरूवा सेटिङ ८ महिना पनि टिकेन।

स्थानीय तहमा सरूवा भएर संघमै बस्न सफल यस्ता आधा दर्जन शक्तिशाली उपसचिवहरू फेरि नगरपालिका पठाइएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा व्यवस्थापनमा मनपरी गर्दा स्थानीय तहमा पठाएका लाई संघ (सिंहदरबार)मै राख्ने र फेरि छोटो समयमै स्थानीय तहमा खटाउने गरिरहेको पाइन्छ। उक्त सरूवा हेर्दा सामान्य प्रशासन मन्त्रालय मनलाग्दी ढंगले चलिरहेको देखिन्छ। शक्तिशाली उपसचिव र अव्यवस्थित सामान्य प्रशासन मन्त्रालयको सरूवा प्रणालीले बेथिति मौलाउँदै आएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #अनुप केसी, #नवराज अधिकारी, #मोहन निरौला, #राजु कुँवर, #शेखर पौड्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ