जाँचबुझ आयोगको छानबिनमा दर्जन बढी सहकारीको बेथितिमा सहसचिव डा. टोकराज पाण्डे भेटिए
काठमाडौं। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले सहकारीमा भएका बेथिति केलाउन छनौट गरेका सहकारीको बेथितिमा डा. टोकराज पाण्डे बढी भेटिएका छन्। २०७५ फागुन २९ गतेदेखि २०७७ फागुन २५ गतेसम्म २ वर्ष सहकारी विभागको रजिष्ट्रार भएर बसेका डा. पाण्डे दर्जन बढी सहकारीको बेथितिमा भेटिएका हुन्।
विनोदप्रसाद शर्मा नेतृत्वको सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले छनौट गरेर सहकारी विभागमा रहेका संस्थाहरूको दर्ता प्रक्रिया, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र थप वा शाखा कार्यालय थपको स्वीकृति, एकीकरणलगायतका बेथितिको विवरण अध्यन गर्दा तत्कालीन रजिष्ट्रार डा. पाण्डे १३ वटा सहकारीमा संलग्न रहेको भेटिएको छ। सहकारी संस्थाहरूको दर्ता स्वीकृति प्रकियादेखि कार्यक्षेत्र विस्तार र एकीकरणसम्म डा. पाण्डे मुछिएका हुन्।
एस. एन. एस. को-अपरेटिभ सर्भिस लिमिटेडको दर्ता स्वीकृति दिएर बेथिति निम्त्याउने रजिष्ट्रार डा. टोकराज पाण्डे रहेको आयोगले जनाएको छ। भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई २३ स्थानमा सेवा केन्द्र सञ्चालन गर्न अनुमति दिने रजिष्ट्रार पनि डा. टोकराज पाण्डे हुन्।
एस. एन. एस. को-अपरेटिभ सर्भिस लिमिटेडको दर्तादेखि ५२ वटा सेवा केन्द्र खोलेर अनियमितता गर्ने रजिष्ट्रार डा. पाण्डे नै रहेको प्रतिवेदनले देखाउँछ। पाण्डे अहिले गण्डकी प्रदेशको अर्थ सचिवको भूमिकामा छन्।
काठमाडौंको जेविल्स सहकारी लिमिटेडलाई ४ वटा शाखा कार्यालय खोल्न स्वीकृति दिने रजिष्ट्रार उनै डा. पाण्डे रहेको पाइएको छ। मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड ५ वटा, सर्लाहीको द सहारा लोन सेविंग्स को-अपरेटिभ सोसाईटी लिमिटेडलाई १७ वटा र कैलालीको नवजीवन सहकारी संस्था लिमिटेड ६ वटा सेवा केन्द्र (शाखा) विस्तार गर्न स्वीकृति दिने रजिष्ट्रार पनि डा. पाण्डेले रहेको प्रतिवेदनले देखाएको हो।
प्रतिवेदन अनुसार तत्कालीन रजिष्ट्रार डा.पाण्डेले नवलपरासीको नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १० वटा, नयाँ बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड १३ वटा, ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई ९ वटा र काठमाडौं घण्टाघरको सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १२ वटा सेवा केन्द्र खोल्न स्वीकृति दिएका थिए। उनीमाथि विस्तृत अनुसन्धान गरेर कारबाही गर्न आयोगले सिफारिस गरेको हो।
कार्यक्षेत्र विस्तारमा पनि डा. पाण्डेले उस्तै बदमासी गरेको प्रतिवेदनले औंल्याएको छ। नवलपरासी गैंडाकोटको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड र काभ्रे बेथानचोकको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडलाई कार्य क्षेत्र विस्तार गर्न तत्कालीन रजिष्ट्रार डा. पाण्डेले नै अनुमति दिएको देखिन्छ।
सहकारी संस्था एकीकरणको बेथितिमा पनि डा. पाण्डे नाम जोडिएको छ। नवलपरासीको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ वटा संस्थासँग एकीकरण हुँदा डा. पाण्डेले अनुमति दिएको प्रतिवेदनमा उल्लेख छ। एस. एन. एस. को-अपरेटिभ सर्भिस लिमिटेडको एकीकरणमा पनि पाण्डे नै संलग्न रहेको खुल्न आएको हो। निश्चीत सहकारीको जाँचबुझ गर्दा मात्रै आयोगले पाण्डेको संलग्नता फेला पारेको छ।
पाण्डेपछि लिलाप्रसाद शर्मा सहकारीको बेथितिमा संलग्न भएको पाइन्छ। औंचो पैचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई २ वटा सेवा केन्द्र खोल्न स्वीकृति दिने रजिष्ट्रार लिलाप्रसाद रहेको आयोगले जनाएको छ। गैडाकोटको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० वटा शाखा विस्तार गर्न अनुमति दिने रजिष्ट्रार शर्मा नै देखिएका छन्।
आयोगका अनुसार तत्कालीन रजिष्ट्रार शर्माले गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको ६ वटा सेवा केन्द्र विस्तारको स्वीकृति दिएका थिए। बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र विस्तारमा रजिष्ट्रारद्वय डा. टोकराज पाण्डे र लिलाप्रसाद शर्मा मुछिएका छन्। दुई रजिष्ट्रारका पालामा उक्त संस्थाले २४ वटा सेवा केन्द्र खोलेको हो। भक्तपुरको सिल्लादेवी कृषि सहकारी संस्था लिमिटेडलाई ९ वटा सेवा केन्द्र खोल्न दिने रजिष्ट्रार शर्मा रहेको खुलेको छ। शर्मा २०७७ फागुन २६ गतेदेखि २०७८ कार्तिक २ गतेसम्म सहकारी विभागको रजिष्ट्रार रहेका थिए।
सर्लाहीको सहरा मल्टिपर्पास को-अपरेटिभ सोसाइटी लिमिटेडको १० वटा सेवा केन्द्र विस्तार गर्न दिने रजिष्ट्रार झलकराम अधिकारी र नवलपरासीको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ वटा सेवा केन्द्र विस्तार गर्दा रजिष्ट्रार रूद्रप्रसाद पण्डित रहेको प्रतिवेदनले देखाएको छ। ललितपुरको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यक्षेत्र विस्तार गर्ने रजिष्ट्रार सुदर्शनप्रसाद ढकाल रहेको प्रतिवेदनबाट खुल्न आएको हो।
का.मु. रजिष्ट्रार शंकरराज जोशी, केशवबहादुर थापा, उपरजिष्ट्रारहरू शशिकुमार लम्साल, टोलराज उपाध्याय सुरेन्द्रराज पौडेल, खिमानन्द आचार्य, शाखा अधिकृत रघुवंश कँडेल, सन्देशप्रसाद जोशी, बासदेव भट्टराई, निरोज घिमिरे, विनोदकुमार गौतम, कानुन अधिकृत मेनुका घिमिरे, कानुन अधिकृत राजेन्द्र नेपाल कारबाहीको सिफारिसमा परेका छन्। शाखा अधिकृत सन्देशप्रसाद जोशी सहकारीको सबैखाले बेथितिमा संलग्न भएको भेटिन्छ।
सहकारी संस्थालाई कुनै आधार विना कार्यक्षेत्र मनपरी विस्तार गरी जथाभावी शाखा कार्यालय वा सम्पर्क कार्यालय/सेवाकेन्द्र खोल्न स्विकृति दिने यिनीहरूमाथि एक्सन लिएर सहकारीमा सुशासन कायम गर्ने बालेन सरकारको तयारी देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. टोकराज पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस