सहकारी बेथिति जाँचबुझ आयोगको ‘राडार’मा परेका उपसचिव शशिकुमार लम्साल


काठमाडौं। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को ‘राडार’मा परेका उपसचिव शशिकुमार लम्साल सहकारी विभागमै रहेको पाइएको छ। सहकारी डिभिजन ललितपुरको प्रमुख भएर विभाग आएका लम्साल सहकारीका रैथाने कर्मचारी रहेका पाइएको हो। आयोगले प्रतिवेदन तयार गर्दाका बखत लम्साल विभागमै रहेको तथ्य फेला परेको हो।

काठमाडौं-२२ स्थित एसएनएस को-अपरेटिभ लिमिटेड र कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्था लिमिटेड, गैडाकोटस्थित बिकु बचत तथा ऋण सहकारी लिमिटेड, काठमाडौं घण्टाघरस्थित सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीको सेवा केन्द्र विस्तार गर्दा लम्सालको संलग्नता देखिन्छ। यी सहकारीमा भएको बेथितिमा रजिष्ट्रार डा. टोकराज पाण्डे, उपरजिष्ट्रार शशिकुमार लम्साल र शाखा अधिकृत सन्देश प्रसाद जोशीमाथि विस्तृत छानबिन गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ। तर, उनै लम्साल सहकारी विभागको हर्ताकर्ता भएर आयोगको प्रतिवेदन कमजोर पार्न भूमिका खेलेको पाइएको हो। आयोगको छलफलमा लम्साल सहकारी विभाग कै कर्मचारीको हैसियतमा सहभागी भएको देखिन्छ।

जाँचबुझ आयोगले उपत्यका भित्रका डिभिजन सहकारी कार्यालयहरूमा कार्यालयहरू खारेज हुनुअघि तत्काल कार्यरत कार्यालय प्रमुखहरूको कार्यवधि सम्बन्धमा सहकारी विभागबाट माग गर्दा विवरण प्रस्तुत हुन नसकेको उल्लेख गरेको छ। आयोगले उक्त विषयमा अनुसन्धान हुन आवश्यक रहेको औंल्याएको हो।

हाल लम्साल जाजरकोटको छेडगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भइसकेका छन्। उनी सहकारी विभागमै कार्यरत रहनु र आफूससहित डिभिजन सहकारीमा बस्ने कार्यालय प्रमुखको कार्यवधि उपलब्ध नगराउनुले लम्सालको भूमिकामाथि प्रश्न उठेको हो।

यता सेवा केन्द्र विस्तारलगायतका सहकारीका बेथितिमा जोडिएका खिमानन्द आचार्य भूमि व्यवस्थापन तथा अभिलेख विभागमा कार्यरत छन्। सहकारीका हर्ताकर्ता आचार्य विभागको जग्गा प्रशासन जस्तो महत्त्वपूर्ण शाखाको कमाण्ड सम्हालिराखेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #खिमानन्द आचार्य, #शशिकुमार लम्साल, #सहकारीमा भएको बेथिति जाँचबुझ आयोग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ