टेकोमा अडिएको स्वास्थ्य मन्त्रालय अन्ततः संसद भवन–१ मा, मन्त्रिपरिषद्को निर्णयले खुल्यो स्थायी व्यवस्थापनको बाटो
काठमाडौं । लामो समयदेखि अस्थायी टेकोको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्ततः स्थायी कार्यालयतर्फ उन्मुख भएको छ।
मन्त्रिपरिषद्को गत वैशाख ३० गतेको बैठकले संघीय संसद भवन निर्माण सम्पन्न भएपछि हाल संसद सचिवालयले प्रयोग गरिरहेको संसद भवन–१ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्ला केही वर्ष निकै असहज अवस्थाबीच आफ्नो सेवा सञ्चालन गर्दै आएको थियो। २०८२ माघमा भएको जेन–जेड आन्दोलनका क्रममा रामशाहपथस्थित तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको भवनमा आगलागी हुँदा मन्त्रालयको संरचनामा गम्भीर क्षति पुगेको थियो। त्यसपछि मन्त्रालयलाई अस्थायी रूपमा टेकोको सहारामा बनाइएका टिनका संरचनाहरूमा राखेर सञ्चालन गरिएको थियो।
त्यसपछिको चरणमा मन्त्रालयलाई सिंहदरबारभित्र स्थानान्तरण गर्ने विषयमा व्यापक बहस भएको थियो। मन्त्रालयका कर्मचारी तथा विभिन्न निकायबाट पर्याप्त तयारीबिनाको स्थानान्तरणप्रति असन्तुष्टि जनाइए पनि तत्कालीन अवस्थामा स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र ल्याउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, सहसचिव दिवस आचार्य तथा उपसचिव मित्र घिमिरेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनीहरूको पहलपछि मन्त्रालयले सिंहदरबारभित्रबाट सेवा सञ्चालन गर्न थालेको थियो।
स्वास्थ्य क्षेत्रको नीति निर्माण, समन्वय र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रालय सिंहदरबारभित्रै रहनुपर्ने विषयमा स्वास्थ्य लाइभले वर्षौंदेखि निरन्तर आवाज उठाउँदै आएको थियो। मन्त्रालय बाहिर रहँदा पहुँच, समन्वय तथा बिचौलियाको प्रभाव बढ्ने जोखिम रहेको भन्दै मन्त्रालयलाई सिंहदरबारभित्र स्थायी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइँदै आएको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै स्वास्थ्य मन्त्रालयको स्थायी व्यवस्थापनको बाटो खुलेको छ। ।
मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न भई संसद सचिवालय हाल प्रयोगमा रहेका भवनहरूबाट सरेपछि संसद भवन–१ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई उपलब्ध गराइनेछ।
सरकारले सार्वजनिक गरेको निर्णयमा संसद भवन–१ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रयोग गर्ने, संसद भवन–२ युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रयोग गर्ने तथा अन्य मन्त्रालय र निकायहरूको समेत पुनः व्यवस्थापन गरिने उल्लेख छ। यो निर्णयसँगै आगलागीपछि अस्थायी संरचनाको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य मन्त्रालयले अब दीर्घकालीन र व्यवस्थित कार्यालय पाउने भएको छ।
स्वास्थ्य क्षेत्रका कर्मचारीहरूका अनुसार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाहरूलाई एउटै परिसरमा व्यवस्थित गर्न सकिने भएकाले सेवा प्रवाह, समन्वय र प्रशासनिक कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचारट्याग : ##mohp nepal


तपाईको प्रतिक्रिया दिनुहोस