लागूऔषधको अवस्था ‘प्रकोप’को रूपमा फैलिँदै, न्यूनीकरणमा सबैको भूमिका आवश्यक : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले नेपालमा लागूऔषध दुव्र्यसनको अवस्था प्रकोपको रूपमा विकसित हुँदै गएको निष्कर्ष निकालेको छ।
अन्तर्राष्ट्रिय लागूऔषधविरुद्ध दिवसको अवसरमा आयोजित तयारी बैठकमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेले नेपालभर लागूऔषध प्रयोगको अवस्था हेर्दा यसले प्रकोपको रूप लिइसकेको बताए। उनका अनुसार बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लागूऔषधको प्रयोग देखिन थालेकाले यसको न्यूनीकरण तत्काल आवश्यक छ।
उनले अन्तर्राष्ट्रिय दिवसको अवसरमा चेतनामूलक, रोकथाममूलक र कारबाहीमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै लागूऔषध नियन्त्रण सरकारको मात्र नभई समाज र हरेक नागरिकको साझा दायित्व भएको बताए।

‘२०३३ सालमा लागूऔषध नियन्त्रण ऐन आएको थियो। अहिले सबैको सहभागिता र जिम्मेवारी सुनिश्चित गर्ने गरी नीति तथा नियममा समेत केही परिवर्तन गर्ने तयारी भइरहेको छ,’ सहसचिव घिमिरेले भने।
उनले विगतको तुलनामा फरक ढंगले काम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए। ‘राम्रा विद्यार्थीहरू आफैं सचेत र स्वस्थ छन्। तर जोखिममा रहेका समुदायलाई लक्षित गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। कार्यक्रमहरू पनि त्यहीअनुसार परिमार्जन गर्नुपर्छ,’ उनले भने।
गृह मन्त्रालय र प्रहरीको फरक दृष्टिकोण
गृह मन्त्रालयले लागूऔषधको अवस्था प्रकोपको रूपमा देखिएको बताइरहँदा नेपाल प्रहरीको विश्लेषण भने केही फरक देखिएको छ।
सोही कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतका वर्षको तुलनामा लागूऔषध प्रयोगकर्ता तथा उनीहरूसम्बन्धी कारबाहीका तथ्यांक हेर्दा अवस्था केही सकारात्मक देखिएको बताए।
‘यो वर्ष किन यस्तो देखियो भन्ने स्पष्ट छैन। मुद्दा दर्ता र पक्राउ संख्या केही घटेका छन्, तर बरामद मात्रा भने बढेको छ,’ उनले भने, ‘तथ्यांकले अवस्था सकारात्मक देखाए पनि समाजमा हेर्दा चित्र फरक छ।’ उनका अनुसार लागूऔषध दुव्र्यसन तराईबाट हिमाली क्षेत्रतर्फ विस्तार हुँदै गएको छ।
महानिरीक्षक कार्कीले विगतमा प्रहरीले लागूऔषध ओसारपसार र बिक्री–वितरण नियन्त्रणमा बढी ध्यान दिएको भए पनि अब उत्पादनकर्तासम्म पुग्ने रणनीति अपनाइएको बताए।
सुर्ती र मदिरा पनि ‘ड्रग्स’कै प्रवेशद्वार
महानिरीक्षक कार्कीले सुर्तीजन्य पदार्थ र मदिरालाई पनि लागूऔषधतर्फको प्रवेशद्वारका रूपमा व्याख्या गरे।
‘हामीले सधैं बालबालिकालाई चेतनामूलक कार्यक्रममा सहभागी गराउँछौं। तर अभिभावकहरूले नै विभिन्न चाडपर्वका अवसरमा एक महिना अगाडि देखि मदिरा सेवन गर्ने संस्कारलाई सामान्य ठानिरहेका छन्,’ उनले भने, ‘सुर्ती र मदिरा पनि ड्रग्स नै हुन्। धेरैजसोको लत यहींबाट सुरु भएर अन्य लागूऔषधसम्म पुग्ने गरेको देखिन्छ।’
उनले सुर्तीजन्य पदार्थ तथा मदिराको खरिद–बिक्रीमा बालबालिका प्रयोग भइरहेको उल्लेख गर्दै नीति संशोधनमार्फत निश्चित उमेर समूहलाई मात्रै बिक्री–वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताए।
‘रक्सी र चुरोट बिक्रीको समय पनि निर्धारण गर्न आवश्यक छ। अहिले राति १० बजेसम्म बिक्री गर्न पाइन्छ, तर यो समय धेरै भएको महसुस हुन्छ। यसलाई घटाउनुपर्छ,’ कार्कीले भने।
लागूऔषध विभाग गठनभन्दा न्यूनीकरणमा ध्यान
कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्ने विषयमा विगतदेखि नै छलफल भइरहेको बताए। तर उनले हालको प्राथमिकता विभाग गठनभन्दा पनि बढ्दो लागूऔषध दुव्र्यसन न्यूनीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
‘विभाग गठन गर्ने विषय महत्वपूर्ण भए पनि अहिलेको आवश्यकता भनेको बढ्दो लागूऔषध दुव्र्यसनलाई कसरी नियन्त्रण गर्ने भन्ने हो,’ सचिव श्रेष्ठले भने।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस