वर्षौंदेखि थन्किएका पाँच डायलासिस मेसिन मर्मतपछि सञ्चालनमा, राप्ती प्रतिष्ठानमा सेवा क्षमता विस्तार
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौंदेखि बिग्रिएर थन्किएका पाँच वटा हेमोडायलासिस मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। मेसिन बिग्रिएपछि लामो समयदेखि मिर्गौला रोगीहरू डायलासिसका लागि पालो कुर्न बाध्य थिए।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीका अनुसार पोखराबाट हेमोडायलासिससम्बन्धी प्राविधिक विज्ञको टोली बोलाएर बिग्रिएका मेसिन मर्मत गरिएको हो।
मेसिन सञ्चालनमा आएपछि डायलासिस सेवाको क्षमता बढेको र बिरामीहरूले थप सहज रूपमा सेवा पाउन थालेको डा. रसाइलीले बताए। उनका अनुसार बिग्रिएका पाँचवटै मेसिन सञ्चालनमा आएपछि आपत्कालीन रूपमा डायलासिस गराउनुपर्ने बिरामीको संख्या २२ जनाबाट घटेर ३ जनामा झरेको छ।

हाल प्रतिष्ठानमा दैनिक थप ११ जना मिर्गौला रोगीले डायलासिस सेवा प्राप्त गरिरहेका छन्। तीन सिफ्टमा सञ्चालन हुने डायलासिस सेवामार्फत दैनिक ३३ जना बिरामीलाई सेवा दिइँदै आएको छ। बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने यस सेवाबाट हाल ९१ जना बिरामी लाभान्वित भइरहेका छन्।
डायलासिस सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ इञ्चार्जसहित १८ जना नर्सिङ स्टाफलाई तालिमसमेत प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। हाल प्रतिष्ठानमा १५ वटा हेमोडायलासिस मेसिन सञ्चालनमा छन्।
डा. रसाइलीका अनुसार उपलब्ध मेसिनको पूर्ण क्षमतामा उपयोग गर्न सकिए थप ५४ जना प्रतीक्षारत मिर्गौला रोगीलाई समेत सेवा दिन सकिने अवस्था रहेको छ।
बिग्रिएका मेसिन पुनः सञ्चालनमा ल्याउन प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शिरीष बुढाथोकीको नेतृत्वमा बायोमेडिकल टेक्निसियन आशिष गौतम र अंकित अधिकारीसहितको टोलीले लामो समयदेखि काम गरेको थियो।
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा नर्सिङ इञ्चार्जसहित आईसीयू र डायलासिस सेवामा १८ जनाको टोली निरन्तर खटिएको छ। साथै, प्रतिष्ठानले मुलुकमै पहिलोपटक आईसीयूमा रहेका मिर्गौला रोगीलाई लक्षित गरी आईसीयूमै डायलासिस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
यसैबीच, डा. रसाइलीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, अन्य सरकारी निकाय तथा निजी क्षेत्रले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत डायलासिस मेसिन उपलब्ध गराउन चाहे प्रतिष्ठान आवश्यक समन्वयका लागि सधैं तयार रहेको बताए।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस