मन्त्री पुनसँग सचिव बज्राचार्यको १५ दिन मात्रै हुनेछ सहकार्य


काठमाडौं। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। मन्त्री पुनलाई सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले पदभार ग्रहण गराएकी हुन्। उक्त मन्त्रालयमा मन्त्री पुन र सचिव बज्राचार्य दुबै नयाँ हुन्। तर एउटा संयोग भने मिल्छ पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भइसकेका व्यक्ति हुन्। बज्राचार्यले पनि साबिकको विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेकी छिन्।

बालेन नेतृत्वको सरकारले पुन कै माग बमोजिमका छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो। शिक्षाबाट छुट्याएर बनाइएको उक्त मन्त्रालयको मन्त्रीको जिम्मेवारी पनि उनै पुनले पाएका छन्। मन्त्री पुन र सचिव बज्राचार्य विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा एकसाथ देखा परेका हुन्। सचिव बज्राचार्य नेपाल ट्रष्टको कार्यालयबाट सरूवा भएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा हाजिर भएकी हुन्।

मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्। सचिव बज्राचार्यले उक्त नयाँ मन्त्रालयको ‘ओएन्डएम’ सर्वेक्षण गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गराएकी हुन्। तर, ओएन्डएम ‘फाइनल’ हुने बेलामा सचिव बज्राचार्य घर गइसकेकी हुनेछिन्।

सचिव बज्राचार्य असार १६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन्। ५ वर्ष सचिव खाएर उनी अवकाशमा जान लागेकी हुन्। तीनवटा शनिबार र आइतबारको विदा कटाउदा मन्त्री पुन र सचिव बज्राचार्यबीच अब पन्ध्र (१५) दिन मात्र सहकार्य हुने देखिन्छ। जेठ महिनाको २७, २८ र २९ गते असार महिनाको १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १५ र १६ गतेगरी उनीहरूबीच ठ्याकै १५ दिन सहकार्य हुनेछ। जेठको ३० र ३१, असारको ६, ७, १३ र १४ गते ६ दिन शनिबार र आइतबारको बिदा हुने भएकाले १५ कार्यदिनमै सचिव बज्राचार्य अवकाशमा जानेछिन्। पदभार सम्हाल्दा मन्त्री पुनले गरेको ओएन्डएम गर्नेसम्बन्धी निर्णयको रिजल्ट नआउँदै सचिव बज्राचार्य सरकारी सेवाबाट अवकाश हुनेछिन्। दुई हप्ताको सहकार्यपछि आरक्षणबाट आएकी सचिव बज्राचार्य विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट मात्र होइन सरकारी सेवाबाटै बिदा हुनेछिन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ