तुलसीपुर र घोराहीका प्रमुख प्रशासकीय अधिकृत अझै भएनन् हाजिर
काठमाडौं। तुलसीपुर र घोराहीका प्रमुख प्रशासकीय अधिकृत अझै हाजिर भएका छैनन्। सरकारले दुई महिना अगाडि नै सहसचिव टेकनारायण पौडेल र चन्द्रप्रसाद भुसाललाई तुलसीपुर र घोराही उपमहानगरपालिकाका सरूवा गरेको थियो। तर, साढे दुई महिना हुन लाग्दा समेत पौडेल र भुसाल प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएका छैनन्।
पौडेल र भुसालसँगै बुटवल उपमहानगरपालिकामा सरूवा भएका दिपक ज्ञवाली र जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा ज्ञानहरि घिमिरे हाजिर भइसकेका छन्। सामान्य प्रशासन मन्त्रालयबाट रमाना भएको महिना दिन हुन लाग्दा पनि पौडेल र भुसाल प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएको पाइँदैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सहसचिवहरू सुशील ढकाल, श्रीचन्द्र साह र बैकुण्ठ अर्याल मात्र हाजिर गरिरहेका छन्। तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका सहसचिव टेकनारायण पौडेल सिंहदरबारतिरै रुमल्लिरहेका छन्। तर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको नजर पुगेको देखिँदैन। तुलसीपुरको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भने केशवराज पार्धेले सम्हालिरहेका छन्।
घोराहीको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका चन्द्रप्रसाद भुसाल पनि हाजिर भएको पाइँदैन। साढे दुई महिना हुन लाग्दा पनि भुसाल सिंहदरबारबाट दाङको घोराहीमा पुग्न सकेका छैनन्। घोराही उपमहानगरपालिकाको निमित्त भएर रामबहादुर हमाल कमाण्ड सम्हालिरहेका छन्।
हालसालै वीरगञ्ज महानगरपालिकाका बसन्तबहादुर बोहरा, विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका विजयकुमार शर्मा र कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका सहसचिव रेशम लाल कँडेल हाजिर भइसकेका छन्। हाजिर नगराउने वीरगञ्जले समेत प्रमुख प्रशासकीय अधिकृत पाइसकेको छ। तर, दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका भने लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको प्रतिक्षामा छन्।
क्याटेगोरी : समाचारट्याग : #चन्द्रप्रसाद भुसाल, #टेकनारायण पौडेल


तपाईको प्रतिक्रिया दिनुहोस