सहसचिव हुनेबित्तिकै स्थानीय तहमा खटाइएका तीनैजना भए हाजिर
काठमाडौं। सहसचिव हुनेबित्तिकै स्थानीय तहमा खटाइएका तीनैजना हाजिर भएका छन्। खुला प्रतिस्पर्धाबाट सहसचिव भएका विजयप्रसाद शर्मा र टेकबहादुर वली तथा पिछडिएको क्षेत्रबाट सहसचिव भएका बसन्तबहादुर बोहरा स्थानीय तहमा हाजिर भएका हुन्।
जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव विजयप्रसाद शर्मालाई विराटनगर महानगरपालिकामा सरुवा गरेको थियो। त्यस्तै शर्मासँगै खुला प्रतिस्पर्धामा सहसचिव भएका टेकबहादुर वलीलाई हेटौंडा उपमहानगरपालिका र पिछडिएको क्षेत्रबाट सहसचिव बनेका बसन्तबहादुर बोहरालाई वीरगञ्ज महानगरमा सरूवा गरेको थियो। एकैपटक सहसचिव भएर विराटनगर, हेटौंडा र वीरगञ्जको प्रमुख प्रशासकीय अधिकृत बनेका शर्मा, वली र बोहरा जेठ नवित्दै हाजिर भइसकेका छन्। वीरगञ्ज महानगरपालिकामा हाजिर नगराएपछि कलैया उपमहानगरपालिकामा पठाइएका रेशमलाल कँडेल पनि उक्त स्थानीय तहमा हाजिर भइसकेका हुन्।
सरकारले चैत १६ गते नै दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाएका सहसचिव भने अझै हाजिर भएका छैनन्। दाङको तुलसीपुर उपमहानगरपालिकामा टेकबहादुर पौडेल र घोराही उपमहानगरपालिकामा चद्रप्रसाद भुसाललाई प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो। तर साढे दुई महिना हुन लाग्दा समेत सहसचिव पौडेल र भुसाल उक्त स्थानीय तहमा हाजिर भएका छैनन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस