ओलीका पालामा प्रधानमन्त्री कार्यालयको कोर टिममा बसेका कर्मचारीहरूको रजगज


काठमाडौं। ओली सरकारका पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोर टिममा रहेका कर्मचारीहरूको रजगज कायमै  रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयमा बसेका विष्णुप्रसाद सुवेदीदेखि झविन्द्र पाण्डे, नविन लामिछानेसँग अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कार्यरत छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयमा बसेर रजगज गरेका पर्वतका विष्णुप्रसाद सुवेदी नेकपा एमाले निकट कर्मचारी संगठनका केन्द्रीयस्तरका नेता भइसकेका कर्मचारी हुन्। २०७३ सालमा उपसचिव भएका सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै २०७५ सालदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन्। ओलीको सचिवालयमा बसेर रजगज गरेका उपसचिव सुवेदी अहिले सामाजिक विकास शाखा हेरिरहेका छन्। ओली कै पालामा सचिवालयमा बसेर सामाजिक सुरक्षामा ध्यान दिएको भए जेनजी आन्दोलन नहुन पनि सक्थ्यो। सात वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनी बसिरहेका हुन्। ओली सत्ता हटेपनि उपसचिव सुवेदी हटेका छैनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकारको कमाण्ड सम्हालिरहेका उपसचिव कृष्ण सापकोटा ओली सरकारका पालामा प्रधानमन्त्री कार्यालय भित्रिएका हुन्। तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको निजी सचिव बनेर उनले राम्रै रजगज चलाएका थिए। मुख्यसचिवका सदाबहार पिएलाई हटाएर उनी प्रधानमन्त्री कार्यालय भित्रिएका हुन्। उनी अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै टिकिरहेका छन्। २०७७ सालमा उपसचिव भएका बाग्लुङ्गकका सापकोटा गृह, अध्यागमन, कम्पनी रजिष्ट्रार, सिभिल अस्पताललगायत बसेर आएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको क्याबिनेट हेर्ने उपसचिव विष्णुप्रसाद घिमिरे ओली सरकारका पालामा खास मानिन्थे। रुपन्देहीका घिमिरे २०७५ सालदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। २०७० सालका उपसचिव गृह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। उनी प्रधानमन्त्री कार्यालय बसेको लामो समय भइसकेको छ।

तथ्याङ्कको उपसचिव कमल पौडेल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको लामो समय भइसकेको छ। उनी अर्थ, भन्सार, स्वास्थ्य जस्ता तथ्याङ्कका महत्त्वपूर्ण ठाउँमा बसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। दुई वर्षभन्दा बढी समयदेखि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भौतिक पूर्वाधार शाखा हेर्ने उपसचिव राजन भट्टराई ओली सरकार कै पालामा भित्रिएका हुन्। २०७७ उपसचिव भएका तनहुँका भट्टराईले ‘जबज’मा थेसिस गरेको चर्चा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रादेशिक समन्वय, राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मामिला शाखामा कार्यरत शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डे ओली सरकारको पालामा खरिदका हर्ताकर्ता हुन्। बालुवाटारको खरिद व्यवस्थापन उनैले गर्ने गरेका थिए। शाखा अधिकृत पाण्डे राजेन्द्रप्रसाद भण्डारी नेतृत्वको सम्पत्ति छानबिनमा आयोगमा पठाइएका थिए। इन्टीग्रिटीमाथि प्रश्न उठेपछि फिर्ता बोलाइएको थियो। २०७२ सालका अधिकृत पाण्डे राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण जस्ता निकायमा बसेर काम गरेका कर्मचारी हुन्।

एकनारायण अर्याल गृह सचिव हुँदा निजी सचिव (पिए) बसेका नविन लामिछाने उनी मुख्यसचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छिरेका थिए। २०७८ शाखा अधिकृत लामिछाने उद्योग, गृह, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कोदारी, तातोपानी, पोखरालगायत बसेका कर्मचारी हुन्। एकनारायणको पिए भएपछि श्रीमतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाएपछि उनी चर्चामा आएका थिए। शाखा अधिकृत अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक मामिला शाखामा कार्यरत छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखा कार्यरत छविकार शालिकराम कोइराला उक्त कार्यालयका सदाबहार कर्मचारी हुन्। ओली सरकारका पालामा उनी स्टोर किपर समेत भएर बसेका थिए।फोटोग्राफरलाई स्टोरको जिम्मा लगाएको भनेर चर्चा हुने गरेको थियो। अहिले उनी आफ्नै प्रशासन शाखा अन्तर्गत काम गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निजी सचिवालयमा बसेका सहसचिव विनोदबहादुर कुँवर राष्ट्रिय समावेशी आयोग र शाखा अधिकृत देवेन्द्र सुवेदी भने सोलुखुम्बुको सहायक प्रमुख जिल्ला अधिकारी भएर गएका छन्। केपी शर्मा ओली सरकारको कोर टिममा बसेर महत्त्वपूर्ण भूमिका खेलेका केही कर्मचारी अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कार्यरत छन्। उक्त विषयमा सरकारले ध्यान दिएको देखिँदैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ