एउटै ‘ब्याची’ सचिव: समावेशी संघमा, खुला प्रदेशमा
काठमाडौं। समावेशी संघमा, खुला प्रतिस्पर्धाबाट आएका एउटै ‘ब्याची’ सचिवहरू संघ र प्रदेशमा बाँडिएका छन्। खुला सचिव प्रदेश र समावेशी संघमा व्यवस्थापन भएका हुन्।
मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल र भुपाल बराल २०७० चैतमा एकैदिन लोक सेवा आयोगबाट सहसचिवमा सिफारिस भएका थिए। शोभाकान्त र भुपाल खुला प्रतिस्पर्धाबाट सहसचिव सिफारिस भएका थिए भने मदन आदिवासी/जनजाति कोटा र चन्द्रकला महिला कोटाबाट सहसचिव भएका हुन्।
सचिव बढुवामा भने क्रमशः मदन, चन्द्रकला, शोभाकान्त र भुपाल बढुवा भएका थिए। अगाडि सचिव भएर ६ महिनाभन्दा बढी समय प्रदेशमा बस्ने मदन र चन्द्रकला संघमै टिकेका छन्। उनीहरूपछि सचिव भएर ६ महिनाभन्दा कम प्रदेश बसेका शोभाकान्तलाई प्रदेश फर्काइएको छ। अझ शोभाकान्त त एक महिना पनि गण्डकी प्रदेशमा नबसी संघमा फर्किएका थिए। महालेखा नियन्त्रकको भूमिकामा रहेका शोभाकान्त मधेश प्रदेश खराइएका छन्।
साढे ५ महिना बागमती प्रदेश बसेर अर्थ मन्त्रालयको राजस्व सचिव बनेका भुपाल गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा भएका हुन्। उनी हाजिर भइसकेका छन्। मधेश प्रदेशको प्रमुख सचिवमा सरूवा भएका शोभाकान्त भने अझै हाजिर भएका छैनन्।
मदन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको भूमिकामा छन्। उक्त मन्त्रालयको सचिवबाट चन्द्रकला हालै उपराष्ट्रपति कार्यालय सरूवा भएकी हुन्। ९ महिना मधेश बसेर मदन भूमिमा आएका थिए भने ८ महिना कोशी प्रदेश बसेर चन्द्रकला सामान्यमा आएकी थिइन्। एउटै ‘ब्याची’ सचिव मदन र चन्द्रकला संघमा टिक्दा शोभाकान्त र भुपाल प्रदेश फर्काइएका छन्। सरकारले गरेको उक्त सरूवा न्यायोचित नै देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #चन्द्रकला पौडेल, #भुपाल बराल, #शोभाकान्त पौडेल


तपाईको प्रतिक्रिया दिनुहोस