दोहोऱ्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजी बनेका सहसचिव ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। दोहोऱ्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक (डिजी) बनेका सहसचिव गजेन्द्रकुमार ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठाकुरविरूद्ध ३५ करोड बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापासमेत ७ जना र बिकोई/धुलिखेल जे.भी,, बानेश्वर, काठमाडौँ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको उपमहानिर्देशक र दुईपटक महानिर्देशक भएर काम गरेका ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मधेश प्रदेशको तत्कालीन अर्थ सचिवको हैसियतमा अख्तियारले बागमती नगरपालिकाको फनपार्क एण्ड रिसोर्ट आयोजना निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा भवन, पार्क लगायत निर्माणका लागि बजेट निकासा गर्न भूमिका खेलाका तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सचिव ठाकुर, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपानेविरूद्ध दायर गरेको छ। उक्त भ्रष्टाचार मुद्दामा बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, बिकोई धुलिखेल जेभी र उक्त कम्पनीका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाइएको छ।
चर्चित बिचौलिया दिपक भट्टसँग श्रीमतीको नाममा सेयर खरिद गरेपछि ठाकुर विवादमा परेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजीबाट हटेका थिए। सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको भूमिकामा रहेका सहसचिव ठाकुर भ्रष्टाचार मुद्दा लागेसँगै निलम्बनमा परेका छन्। अर्थ मन्त्रालय वा अन्तर्गतबाट केही समय अघि उपराष्ट्रपति कार्यालयमा सरूवा भएका ठाकुर हाजिर भइसकेका थिएन। उपराष्ट्रपति कार्यालयमा हाजिर नहुँदै सहसचिव ठाकुर भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका हुन्।





क्याटेगोरी : समाचार
ट्याग : #गजेन्द्रकुमार ठाकुर


तपाईको प्रतिक्रिया दिनुहोस