अवकाशको मुखमा रहेका ३ सहसचिव सामान्यको जगेडामा तानिए


काठमाडौं। सरकारले अवकाश मुखमा रहेका ३ सहसचिवलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जगेडा (अतिरिक्त समूह)मा तानेको छ। जगेडामा पुऱ्याइएका ४ सहसचिवमा ३ जना अवकाशको मुखमा रहेका छन्। सहसचिव तुलसीनाथ गौतम, जयकुमार घिमिरे र वेदप्रसाद खरेल अवकाशको मुखमा रहेका सहसचिव हुन्। जगेडामा तानिएका सहसचिव युगराज पाण्डेको भने साढे ५ वर्ष जागिर बाँकी रहेको पाइन्छ।

बागमती प्रदेश लोक सेवा आयोगका सचिव (सहसचिव) तुलसीनाथ गौतमको अब एक महिना जति जागिर बाँकी छ। असोज १३ गते ५८ वर्ष उमेर पूरा भए घर जान लागेका सहसचिव गौतमलाई सामान्यको जगेडामा तानिएको हो। बागमती प्रदेशमा मन्त्रालय गाभिएपछि सचिव (सहसचिव) व्यवस्थापन गर्न संघीय सरकारले तुलसीनाथ गौतम र हेमराज भुसाललाई तानेको हो। गौतम जगेडामा थन्क्याइएका छन् भने भुसाल उपराष्ट्रपति कार्यालय पुगेका हुन्।

मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरे पनि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका छन्। सहसचिव घिमिरे ५८ वर्ष पूरा भएर असोज १४ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। एक महिनापछि घर जान लागेका सहसचिव घिमिरेलाई सामान्यको जगेडामा तानिएको हो।

लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र खारेज भएपछि फाजिलमा परेका कार्यकारी अधिकृत वेदप्रसाद खरेल सामान्यको जगेडामा तानिएका छन्। उनी २०८४ वैशाखको पहिलो हप्ता ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। अवकाशमा जान ८ महिना बाँकी रहेका फाजिलमा परेका सहसचिव खरेल सामान्यको जगेडामा तानिएका हुन्।

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयबाट सचिव युगराज पाण्डे सामान्यको जगेडामा तानिएका छन्। राष्ट्रिय योजना आयोगका सहसचिव राजेश गौतमलाई लुम्बिनी प्रदेश प्रमुखका कार्यालयमा पठाएपछि पाण्डे अलपत्र परेका थिए। सरकारले उनलाई तत्कालका लागि सामान्यको जगेडामा तानेको हो। सहसचिव पाण्डेको जागिर २०८८ चैतसम्म (साढे पाँच वर्ष) बाँकी छ।

पछिल्लो समय सहसचिव व्यवस्थापन गर्न सरकारले अवकाशको मुखमा रहेका सहसचिवलाई जगेडामा राख्न थालेको छ। दरबन्दीभन्दा बढी सहसचिव भएपछि सरकारले उक्त रणनीति अख्तियार गरेको देखिन्छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #जयकुमार घिमिरे, #तुलसीनाथ गौतम, #युगराज पाण्डे, #वेद प्रसाद खरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ