प्रधानमन्त्री राहत कोषमा काठमाडौँ महानगरपालिकाले साढे ४ करोड बढी जम्मा गर्ने
काठमाडौं। रसुवा भोटेकोशी बाढीजन्य विपदमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न कार्यपालिका बैठक काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ जम्मा गर्ने भएको छ । रसुवा भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनका महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७ औँ कार्यपालिका बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
बाढीग्रस्त क्षेत्रका स्थानीय तहसँग समन्वय गरेर आवश्यकता पहिचान गर्ने जिम्मेवारी पनि विपद व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।
प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिने रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस