सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
महेन्द्रनगर(कञ्चनपुर), १३ भदौ । भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सुदूरपश्चिम विश्वविद्यालयले गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। टेन्टेटिभ रूपमा करिब ८८ लाख रुपैयाँ जम्मा हुने अपेक्षा गरिएको छ।
विश्वविद्यालयको भाद्र १३ गते बसेको कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको मासिक पारिश्रमिक/तलबबाट रकम कट्टा गरी उक्त कोषमा जम्मा गरिने रजिस्ट्रारको कार्यालयले जनाएको छ। जसअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम, प्राध्यापक, सह-प्राध्यापक, सह-प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको दस दिनको तलब, उप-प्राध्यापक, उप-प्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट सात दिनको तलब, मुख्य सहायक, सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिनको तलब र श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब कट्टा गरिनेछ।
रजिस्ट्रार प्रा. डा. गोविन्द सिंह बिष्टद्वारा जारी सूचनामा यस प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुभएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ भने घाइते हुनुभएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस