झापा प्रशासनको संयोजनमा सुपथ मूल्य पसल सञ्चालन
निम्न वर्गीय परिवारलाई राहत, खाद्यान्नमा विशेष
झापा । आसन्न दशैं, तिहार, छठलगायतका पर्वलाई लक्षित गर्दै निम्न वर्गीय परिवारलाई राहत पुर्याउने उद्देश्यले झापामा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। खाद्य सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनका उत्पादनहरूमा विशेष छुटसहित बिक्री–वितरण हुने गरी सुपथ मूल्य पसल सञ्चालनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
आधारभूत खाद्यान्नअन्तर्गत चामल, नुन, चिनी लगायतका भान्साका सामग्रीमा विशेष छुट उपलब्ध गराइनेछ। तत्कालका लागि सम्बन्धित संस्थानका परिसरबाटै खुला रूपमा बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको छ। स्टिम जिरा चामलमा प्रतिकेजी रु. ५ तथा सोना मनसुली चामलमा प्रतिकेजी रु. ५ छुट दिइएको छ। त्यसैगरी, नुनको प्रत्येक प्याकेटमा रु. २ छुट उपलब्ध गराइएको छ भने चिनी प्रतिकेजी रु. ११० मा बिक्री–वितरण गरिनेछ।
बजारमा चामल, चिनी, नुनलगायतका आधारभूत वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न २५ वटाभन्दा बढी थोक विक्रेतामार्फत आपूर्ति हुने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गरी उपभोक्तालाई ठगी गर्ने जो–कोहीउपर प्रशासनले कडाइका साथ कारबाही अघि बढाउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाले झापाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूलाई समेत संस्थागत सामाजिक उत्तरदायित्वको बोध गर्दै स्वस्फूर्त रूपमा उपभोक्तामैत्री विशेष छुट तथा राहतका प्याकेज सार्वजनिक गर्न आह्वान गरेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस