यी हुन् दसैँ-तिहारबीचमा अख्तियारले छोपेका ‘ठूला माछा’


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दसैँ-तिहारबीचमा ‘ठूला माछा’ छोपेको छ। यसबीचमा १० दिन कार्यालय खुल्दा अख्तियारले पूर्वप्रधानमन्त्रीदेखि बहालवाला सचिव/सहसचिवलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले यसबीच कार्यालय खुलेको १० दिनमा १० भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दायर गरेको छ भने ३ जनालाई रंगेहात पक्राउ गरेको हो।

मोरङको विराटनगरमा हदबन्दी छुटको जग्गा साटफेरको नाममा बिक्रीवितरण गर्न दिएको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संस्कृतिमन्त्री मिनेन्द्रप्रसाद रिजालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिसँग सम्बन्धित जग्गा सट्टापट्टा तथा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उक्त भ्रष्टाचार मुद्दामा कर्णाली प्रदेशका प्रदेशसभा सचिव डा. अर्जुनकुमार खड्का, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बलराम निरौला, कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल डामिएका छन्। यी ठूला माछा एकसाथ निलम्बनमा परेका हुन्। साढे ७३ करोड बिगो मागदाबी रहेको उक्त भ्रष्टाचार मुद्दामा दर्जनौं ठूला माछा छोपिएका हुन्। उक्त मुद्दामा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री,सचिव-सहसचिवसहित ठूला माछा अख्तियारको जालमा परेका छन्।

अख्तियारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई ३३ लाख घूस रकमसहित रंगेहात समातेको छ। शक्तिका पुजारी घिमिरे सामान्य प्रशासन मन्त्रालयबाट सेटिङ मिलाएर भक्तपुर पुगेका थिए। दसैँ-तिहारबीचमा रंगेहात पक्राउ परेका ठूला माछा उपसचिव घिमिरे हुन्। यसबीचमा अख्तियार भूमि प्रशासन कार्यालय मलंगवाका नायब सुब्बा निर्मल तिमल्सिना १ लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको हो। अख्तियारले यसबीचमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेको ‘घूसिया’ टिम र नायब सुब्बा तिमल्सिनालाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारले यसबीचमा नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) हिराबाबु भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा लागेसँगै अनुसन्धानका डिएसपी भट्टराई निलम्बनमा परेका हुन्। त्यस्तै नक्कली स्थायी अध्यापन अनुमतिपत्र लिएका जुम्लाका ज्योति माध्यामिक विद्यालयका शिक्षक महेन्द्रराज शाहीविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो। नक्कली प्रमाणपत्र कै ‘केस’मा कैलालीको बर्दगोरिया गाउँपालिकास्थित जगन्नाथ आधारभूत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले ओखलढुङ्गाको लिखु गाउँपालिकामा करिब ३१ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता गोलमाल गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, वडाध्यक्ष शुकवीर तामाङ्गसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले अकुत सम्पत्ति आर्जन गर्ने मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। करोडौं अकुत सम्पत्ति जोड्ने मालपोतका सुब्बा भ्रष्टाचार मुद्दामा डामिएका हुन्।

दसैँ-तिहारबीचमा भूमि प्रशासन कार्यालय, लगनखेल ललितपुरका भूमि प्रशासन अधिकृतहरू अर्जुन देव योङ्या, नवीनकुमार गोले, ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष खड्का समेत ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। घूस-रिसवतमा मुद्दा लागेर दसैँ-तिहारको बीचमा ठूलो संख्यामा ललितपुर मालपाेत कर्मचारी निलम्बनमा परेका हुन्।

हाटबजार सम्बन्धी ठेक्का घोटालामा सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृतहरू श्रीधर केसी, अनन्तकुमार पौडलेसहितलाई भ्रष्टाचार मुद्दा दायर भएको हो। उक्त मुद्दा डेढ करोड बढी बिगो मागदाबी रहेको छ।

जाजरकोटको, कुशे गाउँपालिकास्थित मानेढुङ्गा माध्यमिक विद्यालयको बजेट हिनामिना गरेको अभियोगमा अख्तियारले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनक बहादुर नेपाली, लेखा सहायक धिरेन्द्रबहादुर सिंह र पूर्वप्रध्यानाध्यापक धनबहादुर सिंहविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उक्त भ्रष्टाचार मुद्दामा करिब साढे १७ लाख बिगो मागदाबी रहेको छ।

डिपिआर घोटालामा अख्तियारले खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजिव रिजाल, लेखापाल रून बहादुर सेजुवात र परामर्शदाता चन्द्रबहादुर बुढा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उक्त मुद्दामा करिब साढे ३९ लाख बिगो मागदाबी गरिएको छ। दसैँ-तिहारबीचमा अख्तियार निकै सक्रिय बनेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ