अध्यादेश मार्फत सुरक्षा प्रत्याभूति हुने कानुन ल्याउन चिकित्सक संघको चेतावनी


काठमाडौं । सरकारलाई सात दिनभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षा प्रत्याभूति हुने अध्यादेश मार्फत कानुन ल्याउन नेपाल चिकित्सक संघको चेतावनी दिएको छ ।

सात दिन देशभरका चिकित्सक वा स्वास्थ्यकर्मीलाई सुरक्षा प्रत्याभूति हुने अध्यादेश मार्फत कानुन ल्याएर सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गर्दै चिकित्सक संघले त्यस्तो परिस्थिति नबने कडा आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएको हो ।

संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सात दिनभित्र कानुन नबनाएको खण्डमा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिँदै संघले त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने स्पष्ट पारेको छ ।

कोरोना महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन नभएको र कार्यस्थलमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको नेपाल चिकित्सक संघका महासचिव डा . बद्री रिजालले बताए ।

जेठ १३ गते भेरी अस्पताल तथा त्यसअघि विराट मेडिकल कलेज अस्पतालमा भएको घटनाले सिंगो चिकित्सा क्षेत्र असुरक्षित बन्दै गएको महासचिव रिजालले विज्ञप्तिमार्फत संघको निष्कर्ष सार्वजनिक गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा ‘अहिले महामारीको अवस्थामा सरकारले अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको भौतिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै र सबै घटनाका दोषी माथि तत्काल २०७६–१२–२२ को मन्त्रिपरिद्को निर्णय अनुसार कोभिड रोकथाम नियन्त्रण र उपचारको कार्यमा बाधा अबरोध पुर्याउने, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको कार्यसम्पादनमा बाधा अवरोध गर्नेलाई हुने सरहको प्रचलित कानून बमोजीमको कारवाही गर्न र सोही निर्णयअनुसार पनि यस्ता अपराधिक क्रियाकलापलाई गैरजमानती अपराधको को रुपमा लिई संलग्न व्यक्तिमाथि तत्काल कारवाही गर्न अध्यादेश मार्फत यथाशीघ्र कानुन बनाइ सुरक्षाको सुनिश्चित गर्न संघ जोडदार माग गर्दछ,’ भन्ने उल्लेख छ ।

संघले भेरी अस्पतालको घटनालाई गम्भीरतापूर्वक लिएर जेठ १३ गतेलाई कालो दिन घोषणा गरेको र १४ गते कालोपट्टी बाँधी काम गरेको जनाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ