१ लाख ५० हजार डोज पिसिभी भ्याक्सिन आयो


काठमाडौं । बालबालिकालाई निमोनियाबाट जोगाउन दिईने पि.सी.भी भ्याक्सिन आइपुगेको छ । बुधबार विकास साझेदार संस्था गाभीबाट १ लाख ५० हजार डोज भ्याक्सिन आएको ओम प्रसाद उपाध्यायले बताए ।

कोरोनाका कारण नियमित खोप अवरुद्ध हुँदै गर्दा गाभीबाट १ लाख ५० हजार खोप आएको हो । पि.सी.भी खोप जन्मेको ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।

अन्तर्राष्ट्रिय बिमानस्थलमा खोप लोड गर्दै

 

खोप चिकित्सा विज्ञानको एक प्रभावकारी उपलब्धी हो । भविष्यमा लाग्न सक्ने कुनैपनि किसिमको संभावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ उपाध्याय भन्छन् ।

खोपले शरीरमा यस्तो प्रतिरोधी क्षमताको विकास गर्छ, जसले गर्दा कतिपय संभावित रोग लाग्न सक्दैन । खोपका माध्यम मार्फत सम्बन्धित रोगका मृत वा कमजोर व्यक्टेरिया मानिसको शरीरमा प्रवेश गराइन्छ । रोग प्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्न श्वेत रक्तकोषलाई सक्रिय पारिन्छ ।

खासगरी बालबालिकालाई स्वस्थ्य राख्न, अपाङ्गताबाट बचाउन, गंभिर रोग लाग्न नदिन खोपहरुको निर्धारित मात्रा पुरा गर्नुपर्छ ।

कुन रोग विरुद्ध खोप ?

भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकर, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सफ्लाइटिस, निमोनिया, दादुरा–रुवेला जस्ता रोगबाट बच्न सानै उमेरमा खोप दिइन्छ । यसैगरी १२ महिनामा जापानिज इन्सफ्लाइटिस र १५ महिनामा दादुरा–रुवेलाको दोस्रो डोज पनि दिइन्छ ।

जबकी खोपको विकास हुनुपूर्व वा खोपको प्रयोग अघि यी रोगबाट कैयौं बालबालिकाको मृत्यु हुन्थ्यो, अंगभंग हुन्थे । बच्चा जन्मिएको एक बर्षभित्र अहिले यी रोग विरुद्ध खोप दिने गरिन्छ । यी खोपबाट संभावित खतरा टार्न सकिन्छ ।

गर्भवतीलाई पनि

गर्भमा रहेको बच्चासँग गर्भवती महिलाको स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले बच्चा गर्भमा रहेकै बेला गर्भवती महिलालाई पनि केही खोप दिइन्छ । गर्भवतीलाई खासगरी धनुष्टांकार र भ्यागुते रोग विरुद्ध खोप दिइन्छ ।

यसकारण आवश्यक छ खोप

बच्चा जन्मिएपछि खोप तालिका अनुसार तोकिको समयमा, तोकिएका सबै खोपहरु लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दार, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबार जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।

कुन खोप कहिले ?

वि.सि.जी

यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ ।

डि.पि.टी– हेप÷ बि–हिब

यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।

पोलियो

पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।

एफआइपीभी

यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ ।

पि.सी.भी.

यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।

दादुरा–रुबेला

यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।

जे.ई

यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।

टी.डी.

यो खोप गर्भवती महिलालाई दिइन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com