२ गुणा मूल्य बढाउन पारासिटामोलको कृत्रिम अभाव, ९५ पैसामा ल्याउन नदिन चलखेल (पत्र सहित)


काठमाडौं । नेपालका औषधि उत्पादक कम्पनीहरुले २ गुणासम्म मूल्यवृद्धि गराउन दबाब दिँदै पारासिटामोलको कृतिम अभाव सिर्जना गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार औषधि उत्पादक कम्पनीहरुले कच्चा पदार्थको मूल्य बृद्धि भएको कारण देखाउँदै प्रचलित मूल्य एक रुपैयाँ रहेको पारासिटामोलको मूल्य ३ रुपैयाँ बनाउनु पर्ने माग राख्दै आएका छन् ।

कोरोना भाइरसका कारण स्वास्थ्य संकटमा परेको अवस्थामा बिरामीलाई आवश्यक पर्ने पारासिटामोल बजारमा नपाएर कृतिम अभाव सिर्जनागरी उद्योगहरुले मूल्य बृद्धि गर्न सरकारलाई बाध्य पार्ने रणनीति बनाएका छन् । जसका कारण देशमा पारासिटामोल सहज उपलब्धता छैन ।

नेपालमा पारासिटामोल अभाव भएपछि संकटको बेला आपतकालीन रुपमा विदेशबाट आयात गर्न पनि औषधि कम्पनीहरुले सिण्डिकेट खडा गरेर रोकेका छन् । सरकारले बजारमा पारासिटामोल अभाव भएपछि बाहिरबाट ल्याएर भए पनि बिरामीलाई स्वास्थ्य उपचारको मौलिक हकबाट बञ्चित हुन नदिनुपर्ने हो । तर, स्वास्थ्य उपचारको मौलिक हकबाट समेत बन्चित बनाउने खेल सुरु भएको छ ।

औषधि व्यवस्था विभागमा वंगलादेशबाट ९५ पैसामा तत्काल् आयात गर्न अनुमति मागको दुई पटक भएको छ । दश दिन भित्र ५ करोड ट्याब्लेट दिने भनेर अनुमती मागेपनि विभागका अधिकारीहरुले चासो देखाएका छैनन् । नेपाली उद्योगहरुको दवावमा परेर विभागले चासो नदेखाएको स्रोत बताउँछ । विभाग स्रोत भन्छ, सस्तोमा दिन्छु भनेर आपतकालीन आयात अनुमती मागे पनि औषधि उत्पादक कम्पनीहरुको दबाब र आर्थिक चलखेलका आधारमा विभागले आयातको अनुमति दिएको छैन ।

महामारीको बेला औषधि अभाव भएपछि विभागले निर्णय गरेर तत्काल समस्या समाधान गर्न अनुमति दिन सक्ने अधिकार छ । तर आयन हेल्थ केयर प्रालीले ५ सय एमजीको ५ करोड पारासिटामोल १० दिन भित्रमा आयत गरेर अभाव टार्न खोजेपनि विभागले अनुमति दिएको छैन ।

मन्त्रालयका अधिकारीहरुका अनुसार नेपाली औषधि व्यवसायीहरुको माग मूल्य बढाउनु परÞ्यो भन्ने छ । त्यही कारण फार्मेसीमा औषधि पठाएका छैन । सरकार मूल्य बढाउने पक्षमा छैन । यस्तो संकटको बेला अभाव हटाउन बाहिरबाट ल्याउछु भन्नेलाई अनुमति नदिनु आश्चर्यको विषय भएको ती अधिकारीको भनाई छ ।

औषधि अभाव भएको छैन

विप्लव अधिकारी महासचिव
औषधि उत्पादक संघ

नेपालमा १६ वटा उद्योगले पारासिटामोल उत्पादन गरेर बजारमा पठाइरहेका छन् । मुल्य वृद्धि वैज्ञानीक रुपमा बढाउनु पर्ने हो । अहिले उठेको मुल्यको कुरा हैन जस्तो लाग्छ । हाम्रो उद्योगहरुले पारासिटामोलको उत्पादन गरिरहेका छन् । औषधि अभाव भएको हैन, अभाव सिर्जना गरिएको हो ।

उद्योगहरुबाट हैन राज्य स्तरबाट अभाव सिर्जना गरिएको हो । मुल्य र मागको कारणले बजारमा अभाव सिर्जना भएको हो । २ करोड ट्याब्लेट पारासिटामोल अझै बजारमा मौज्दात रहेको छ ।

बजारमा आवश्यक भन्दा बढी माग भएको छ । विगत १० महिनामा नेपाली औषधि उद्योगले १० करोड ट्याब्लेट पारासिटामोल बजारमा पठाएको छ । कोभिड भन्दा अगाडी वर्षमा ५ देखि ६ करोड ट्याब्लेट पारासिटामोल मात्रै बजारमा खपत हुदै आएको थियो ।

जनतालाई भ्रम सिर्जना गर्दा उनिहरुले चाहिने भन्दा बढी किने त्यसैले बजारमा अभाव देखिएको हो । विगतका वर्षहरुमा भन्दा तीन गुणा सम्म बढी ट्याब्लेट पारासिटामोल उत्पादन भएको अवस्थामा कुनै पनि हालतमा अभाव हुन सक्दैन ।

हामीले औषधिको मुल्य आज मात्रै हैन, विगत ४ वर्ष अगाडी औषधि व्यवस्था विभागमा पत्राचार गरेका छौं । त्योही आधारमा औषधिको मुल्य निर्धारण गर्नुपर्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com