आगामी असोज मसान्त भित्र ३३ प्रतिशतलाई खोप लगाउन सके संक्रमण रोक्न सकिन्छ


दुई महिना भित्र ६ सय आइसियु, २७५ एनआइसियु पिआइसियु,१८० भेन्टिलेटर र १४ सय एचडियु वेड थपिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो छाल नियन्त्रण गर्न खोप र उपकरणलाई पहिलो प्रार्थमिकता दिएको छ । कोरोना रोक्ने पहिलो अस्त्र खोप मात्रै भएकाले आगामी असोज मसान्त भित्र ३३ प्रतिशत लक्षित समूहमा खोप लगाइसक्नु पर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्त भित्र ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप लगाउन सके तिब्र गतिमा हुने संक्रमण रोक्न सकिने बताए । हाल सम्म २५ लाख अर्थात ८.३३ प्रतिशत नागरिकले पहिलो मात्रा र ७ लाख अर्थात २.३३ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् । तेस्रो छालको जोखिमबाट बच्न आगामी दुई महिना भित्र ३१ प्रतिशत जनताले खोप पाउनु पर्छ ।

खोप पाउने लक्षित समूहमा १८ वर्ष भन्दा माथि उमेर समूहका २ करोड १५ लाख नागरिक छन् । तर, हाल सम्म २५ लाखले पहिलो र ७ लाखले मात्रै दोस्रो डोज खोप पाएको सचिव अर्याल बताउँछन् । उनका अनुसार ३३ प्रतिशत जनता सबैलाई दोस्रो डोज खोप लगाउन सके सामाजिक र आर्थिक क्रियाकलापहरु सुरु गर्न सहज हुने थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ करोड ५० लाख डोज खोप प्रयोग गर्न सके आगामी संक्रमण दर कमगर्न सकिन्छ । यसका लागि कोभ्याक्सबाट २० प्रतिशत र बाँकी खोप नेपाल सरकार आफैले खरिद गर्नु पर्ने छ । चीन सरकारसँग १ करोड १० लाख डोज खरिदका लागि हालै प्रक्रिया अगाडी बढेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com