प्रत्याराेपण  चिकित्सक  भन्छन्,  अनुमति पाए मासिक  २८ वटा मिर्गौला प्रत्याराेपण  गर्छु  तर, कार्यकारी अधिकारी भन्छन्  मासिक १५ वटा प्रत्याराेपण गर्छाै



डा. पुकारचन्द्र श्रेष्ठ, प्रत्यारोपण शल्य चिकित्सक, वीर अस्पताल

नेपालको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर विपन्न नेपालीको सहारा हो । वीरले नै नेपालमा मिर्गौला प्रत्यारोपणको पहल सुरु गरेको हो । मेरो नेतृत्वमा ००८ देखि ०१२ सम्म निरन्तर प्रत्यारोपण भएको थियो । म भक्तपुर सरुवा भएपछि वीरमा नगण्य मात्रामा प्रत्यारोपण जारी थियो, अहिले ठप्प भएको छ । एक वर्षअघि मलाई फेरि यहाँ ल्याइयो । मैले भनेको छु– वीरमा प्रत्यारोपण भ­एमा विपन्न जनतालाई सुबिस्ता हुन्छ । तर, दुर्भाग्य, डेढ वर्षदेखि यहाँ प्रत्यारोपण सेवा अवरुद्ध छ ।

वीरमा नै डायलाइसिस गर्न बिरामी हरेक दिन आउँछन् । वीरमा अप्रेसन थिएटर पनि छ, प्रत्यारोपण गर्छौँ भन्ने हामी चिकित्सक पनि छौँ । तर, प्रत्यारोपणको अनुमति पाएका छैनौँ । हामी डाक्टरले काम पाएका छैनौँ, मिर्गाैलाका बिरामी प्रत्यारोपणका लागि विभिन्न अस्पताल धाउन बाध्य छन् । यो बडो विडम्बना छ ।

म कामविहीन भएको छु, हाजिर गरेर, चिया खाएर घर फर्कन बाध्य छु । उता बिरामीले दुःख पाए, लौन प्रत्यारोपण सुरु गरौँ भनेर हरेक साता अस्पतालको प्रशासनलाई अनुरोध गरेको छु । स्वास्थ्य मन्त्रालयमा पनि पटक–पटक छलफल भएको छ । तर, प्रत्यारोपणको अनुमति मिलेको छैन । सेवा सञ्चालन गर्न दिए सातामा चारवटा प्रत्यारोपण गर्न सकिन्छ । बिरामीलाई सरकारले दिने अनुदान प्रत्यारोपणबापत अस्पतालमा आइपुग्छ । यसरी मिर्गौला प्रत्यारोपणबापत वर्षमा चार करोड रुपैयाँ अस्पताललाई आम्दानी गराउन सकिन्छ । यो कार्ययोजना मैले अस्पताल र मन्त्रालयलाई पनि दिएको छु, तर सुनुवाइ भएको छैन ।

वीर अस्पतालमा नदिने भए ट्रमा सेन्टरको अपरेसन थिएटर मागेको थिएँ । ट्रमामा प्रत्यारोपण गर्नु झन् वैज्ञानिक हो, दुर्घटनामा परेर ब्रेनडेथ भएकाहरूको मिर्गाैला प्रत्यारोपण गर्ने प्रणाली विकास गर्न सकिन्छ । त्यो पनि मैले शनिबार मात्र मागेको हुँ । त्यो दिन ट्रमामा खाली हुन्छ भनेर, तर त्यो पनि सम्भव भएन । मानव अंग प्रत्यारोपणमा रहँदा वर्षमा दुई सयभन्दा बढी प्रत्यारोपण गर्दै आएको थिएँ, अहिले त्यहाँ डेढ वर्षसम्म जम्मा २५ वटा मात्रै प्रत्यारोपण भएका छन् । यही वेला वीरमा डेढ वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा बन्द छ । टिचिङमा पनि गति बढेको छैन । सरकारी अस्पतालहरूले प्रत्यारोपणको दर घटाउँदा विपन्न नागरिक मर्कामा छन् । अहिले आधाभन्दा धेरै बिरामी उपचारका लागि भारत गइरहेका छन्, विपन्न नागरिक निजीमा उपचार गर्न नसकेर मरिरहेका छन् । हरेक दिन बिरामी आउँछन्, बचाइदिनोस् डाक्टर साव भन्छन्, तर मेरा हात बाँधिएका छन् ।

के भन्छन् कार्यकारी अधिकारी

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतम नयाँ भवन सञ्चालनमा आएसंगै अस्पतालको स्तरोन्नती गर्दै अघि बढने बताउछन् । उनले नयाँ भवनबाट अब दैनिक ७५ वटा सर्जरी, मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने बताए ।
यस्तै २५ बेडको आकस्मिक कक्षलाई १०० बेड, १०० बेडको आइसीयूलाई २०० बेड र १५ बेडको डायलासिसलाई १०० बेडमा स्तरोन्नती गरिने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ