स्वास्थ्यमन्त्रीमा बडू र चौधरीको चर्चा


काठमाडौं । देउवा सरकारमा स्वास्थ्यमन्त्री को बन्छ भन्ने विषय अहिले खुब चासोका साथ हेरिएको छ । कोभिड- १९ को महमारी फैलिएको अवस्थामा महत्वपूर्ण मन्त्रालयका रूपमा चिनिएको स्वास्थ्यमा आउने मन्त्री सबैतिरबाट विशेष चासोका साथ हेरिएको हो ।

सत्ता घटक दलबीच भएको मन्त्रालय भागबण्डामा स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको देउवा निकट स्रोतले बतायो । देउवा निकट स्रोतका अनुसार स्वास्थ्य र परराष्ट्रमध्ये एक मन्त्रालय पाउनुपर्ने कांग्रेस नेतृ सुजाता कोइरालाले दाबी गरेकी छन् । उनलाई देउवाले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने सम्भावना छ ।

सुजाताले यसअघि माधवकुमार नेपालको मन्त्रिपरिषद्मामा पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएकी थिईन् । सिटौला टिमबाट गगनकुमार थापालाई स्वास्थ्यमन्त्री बनाउने चर्चाकाबीच सिटौलाले प्रधानमन्त्री देउवासमक्ष आफ्नो टिमबाट उमाकान्त चौधरीको नाम प्रस्ताव गरेका छन् ।

चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन सिटौलाले देउवालाई आग्रह गरेका हुन् । उनी यस अघि पनि स्वास्थ्यमन्त्री भइसकेका व्यक्ति हुन् । रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडूको नाम पनि स्वास्थ्य मन्त्रीको रुपमा चर्चा चलेको छ । त्यहिं समूहबाट सञ्जय गौतमको नाम पनि चर्चामा भएपनि त्यो समूहले स्वास्थ्यमन्त्री दाबी गरे सुदूरपश्चिमका बडूलाई नै स्वास्थ्यको जिम्मेवारी दिने सम्भावना रहेको देउवा निकट स्रोतको भनाई छ ।

महामन्त्रीडा. सशांक कोइरालाको कोटाबाट डा. मीनेन्द्र रिजालको नाम मन्त्रीमा प्रस्ताव आएको छ । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । कांग्रेसले बढीमा ८ वटा मन्त्रालय पाउने सम्भावना छ । अहिले भोजपुरका ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री र बालकृष्ण खाँडलाई गृहमन्त्री बनाएका छन् ।

देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई मन्त्री बनाउन चाहेका छन् । पौडेल समूहले ४ वटा मन्त्रालय दाबी गरेपनि ३ वटासम्म दिने मनस्थितिमा देउवा रहेका छन् । सिटौला समूहबाट एक जना र सुजातालाई स्वतन्त्र रूपमा मन्त्री बनाउने भएकाले देउवा समूहबाट कार्की , खाँड र भुसालले मात्र मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ ।

प्रमुख सचेतक खाँड गृहमन्त्री भएसँगै कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी देउवाले आफ्ना विशेष विश्वासपात्र मीनबहादुर विश्वकर्मालाई दिने तयारी गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com