६५ लाख ८२ हजार ५८० खोप आयोः ७४ लाख सुनिश्चित


काठमाडौं । ०७७ माघ ८ गते भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्ध प्रयोग गरिने कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । करिब ७ महिनाको दौरानमा तीन देशबाट ६५ लाख ८२ हजार ५८० डोज खोप उपलब्ध भएको छ भने, ७४ लाख डोज खोप सुनिश्चितता भएको छ । उपलब्ध भएको खोप मध्ये १८ लाख मात्रै नेपालले खरिद गरेको हो । बाँकी सबै सहयोग मार्फत जुटेका हुन् । तर, चीनबाट ३२ लाख र भारतबाट १० लाख खरिदको आउन बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट २६ लाख, भारत २४ लाख ४८ हजार र अमेरिकाबाट १५ लाख ३४ हजार ५८० गरी जम्मा ६५ लाख ८२ हजार ५८० डोज प्राप्त भएको छ । यस मध्ये अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप भने एक मात्रा लगाए पुग्ने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउँछन् ।

त्यस्तै ५८ लाख डोज खोपको भने सुनिश्चितता छ । मन्त्रालयका अनुसार भारतसँग खरिद गरेको मध्ये १० लाख कोभिसिल्ड, जापान सरकारले कोभ्याक्स मार्फत दिने एस्ट्राजेनेकाको खोप १६ लाख, चीन सरकारको अनुदान १६ लाख र चीनसँग गरिएको खरिद मध्येबाट आउने ३२ लाख गरी जम्मा ७४ लाख डोज सुनिश्चितता भएको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार कोभ्याक्स सुविधा मार्फत ४० लाख मोर्डोना र ४० लाख फाइजरको खोप खरिदका लागि प्रक्रिया प्रस्ताव राखिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले पनि १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन मिल्ने फाइजरको खोप खरिदको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले अहिलेको आवश्यकता विकास नभएर खोप मात्रै भएको बताएका छन् ।

मंगलबार सिंहदरबार छाड्नुअघि देशवासीको नाममा सम्बोधन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी केही महिनाभित्रै सबै नेपालीले कोरोना खोप पाउने सुनिश्चित भएको दाबी गरे ।

प्रतिकूल अवस्थामा पनि कोभिड महामारीविरुद्ध प्रभावकारी काम गरेको जिकिर गर्दै ओलीले हालसम्म खोप लगाउनेको विवरण सुनाए । उनका अनुसार ९ लाख ३२ हजार ८६८ ले दुवै डोज र १६ लाख ७८ हजार ९९३ जनाले पहिलो डोज लगाएका छन् । १ करोड ३१ लाख डोज खोप नेपाल आउने सुनिश्चित भएको दाबी गरेका उनले २ करोड डोजभन्दा बढी खरिदको प्रक्रिया अघि बढेको भन्दै खोपको अभाव नभएको बताए ।

यता एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भने, आफ्नो सरकारले सबै नागरिकलाई पुग्ने खोप सुनिश्चितता गरेको बताएका छन् । अघिल्लो हप्ता प्रधानमन्त्रीबाट राजिनामा दिनु अगाडी जनताका नाममा सम्बोधन गर्दै उनले २ करोड खोप खरिदको प्रक्रिया आफ्नो सरकारले गरिसकेको बताएका छन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘१ करोड ३१ लाख डोज खोप सुनिश्चित भइसकेको छ,’ ‘२ करोडभन्दा बढी डोज खोप खरिद गर्ने प्रक्रिया टुंगो लागेको छ । त्यसैले अब खोपको कुनै समस्या हुदैन ।’ तर, ओलीले भनेको तथ्यांकसँग स्वास्थ्य मन्त्रालय र बिभागका कर्मचारीहरु सहमत छैनन् ।

अहिले सम्म ६५ लाख ८२ हजार ५८० डोज कोभिड विरुद्धको खोप आएको छ, भने ७४ लाख खोप सुनिश्चितता छ । सुनिश्चितता मध्येको चीनबाट ३२ लाख डोज एक हप्ता भित्र आइपुग्ने छ । त्यस्तै जापानले दिएको १६ लाख एस्ट्राजेनेका पनि यो महिना भित्र आउने छ । तर, भारत सरकारले खरिदको दिने १० लाख डोज आउने एकिन भएको छैन ।

ओलीले कोभिड नियन्त्रण गर्ने चरणमा भएको पनि बताएका थिए । तर, केही दिन यता बिस्तारै नयाँ संक्रमितको संख्या बढ्न थालेको छ । १९ प्रतिशतमा पुगेको संक्रमणदर बढेर २५ प्रतिशत तिर पुग्न थालेको अधिकारीहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोर्डोना र फाइजरको ४०–४० लाख डोज खरिद गर्ने प्रस्ताव गरिएको छ । अन्य कुनै पनि खोपसँग सकारात्मक कुरा भएको छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् । ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । त्यस्तै भेरोसिलको पहिलो मात्रा १३ लाख २२ हजार ४७२ जनाले लगाएका छन् भने, ६ लाख ७५ हजार ४८३ जनाले दोस्रो मात्रा लगाएका छन् । यता जोन्सनको खोपको तथ्यांक सबै प्रदेशको संकलन भएको छैन । मन्त्रालयले दिएको तथ्यांक अनुसार बाग्मती प्रदेशमा ४५ हजार ७३९ जनाले लगाएका छन् । हाल खोप अभियान जारी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com