एक वर्षमा तीन लाख ३१ हजार रगत खपत


काठमाडौं । नेपालमा रक्तसञ्चार सेवाको प्रारम्भिक बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७–०७८ मा नेपाल रेडक्रसबाट दुई लाख ४२ हजार ४८ यूनिट रगत संकलन गरिएको र तीन लाख ३१ हजार चार सय ५६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराइएको रेडक्रसले जनाएको छ ।

२०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष १५७ यूनिट रगत संकलन गरिएको थियो । पछिल्लो समय भोलम बढ्दै गएको छ । नेपालमा रक्तसञ्चार सेवाको ५५ औँ स्थापनाको अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा आयोजित मूल कार्यक्रममा यो जानकारी दिइएको हो । अघिल्लो बर्ष देशभरीमा २ लाख ३८ हजार ८३६ युनिट रगत संकलन भई ३ लाख २१ हजार ७७६ युनिट रगत र रक्ततत्व वितरण भएको थियो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघसंस्थाहरुलाई धन्यवाद दिए । नागरिकको ज्यान बचाउन रक्तदाताहरुले ठुलो भुमिका खेलेको उनको तर्क छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार सेवा सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकायहरूले देखाएको सक्रिय सहयोग प्रति आभार व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको छ ।

यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ । नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशिल छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com