भिजिट भिसामा गृहमन्त्रीलाई आपत्त परेपछि विपद्मा पुगे विमल पौडेल


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय भिजिट भिसा काण्ड मच्चिएपछि गृह मन्त्रालय हडबडाएको छ। गृहमन्त्री रमेश लेखकको निजी सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा सरूवा गरिएको छ। अध्यागमन अधिकृत हुँदा नक्कली भिजिट भिसा सेटिङमा मुद्दा लागेका पौडेल अहिले गृहमन्त्रीको सचिवालयमा कार्यरत थिए। प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेपछि ‘ब्याक डेट’मा निर्णय गरेर उनलाई टोकराज पाण्डे नेतृत्वको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा गुपचुप रूपमा हतारहतार व्यवस्थापन गरिएको छ। गृहमन्त्री लेखकलाई आपत्त परेपछि पौडेललाई हतारहतार विपद्मा व्यवस्थापन गरिएको हो।
डेढ वर्ष अघि मात्र पौडेललाई लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा  काठमाडौं जिल्ला अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ धन्दामा तत्कालीन अध्यागमन अधिकृत नरवीर खड्का समातिएपछि पौडेल पनि तानिएका थिए। जिल्ला अदालतबाट सफाइ पाएका पौडेले अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा बसेर लाइन मिलाउन सक्रिय रहेको चर्चा थियो। अख्तियारदेखि गृहसचिव हुँदा महेश्वर न्यौपानेको सचिवालयमा बसेका पौडेल गृहमन्त्री लेखकको सचिवालयका चल्तापुर्जा बनेका थिए। अध्यागमनमा भिजिट भिसा काण्ड दोहोरिएपछि पौडेल गृहमन्त्री लेखकको आपत्त टार्न विपद्मा पुगेका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृहसचिव गोकर्णमणि दुवाडी र प्रशासन महाशाखा प्रमुख छविलाल रिजाललाई निगरानी बढाएपछि मन्त्रालयले एकपछि अर्को गल्ली गर्दै छ। पौडेलको रातारात सरूवा पनि त्यसको ज्वलन्त उदाहरण हो। जसरी प्रमुख अध्यागमन अधिकृत भट्टराईको हतारहतार सरूवा गरियो गृहमन्त्री लेखकको निजी सचिवालयमा कार्यरत पौडेलको पनि त्यसरी नै सरूवा गरिएको मन्त्रालयले स्रोतले बतायो। दिल्ली दूतावासबाट फर्किएका उपसचिव बद्री तिवारीको मातहतमा रहेर पौडेलले गृहमन्त्रीलाई सहयोग गर्दै आएका थिए। भिजिट भिसा काण्ड आएपछि उनको पनि सचिवालयबाट विपद्मा भिसा लागेर टिकट काटिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री रमेश लेखक, #भिजिट भिसा, #विमल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ