सचिव बन्ने लाइनमा शिक्षा सेवाका सहसचिवहरू

काठमाडौं। सचिवमा बढुवा लागि शिक्षा सेवाका सहसचिवहरूले प्रशासन सेवाका सहसचिवहरूलाई पेल्न थालेका छन्। सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएका प्रशासन सेवाका सहसचिव डण्डुराज घिमिरेलाई ‘पेलेर’ शिक्षा सेवाका डा. खगेन्द्रप्रसाद सुवेदी सचिव बन्न सफल भएका हुन्। शिक्षा सेवा, शिक्षा प्रशासन समूहका सहसचिव सुवेदीले प्रशासन सेवामा सहसचिव घिमिरेलाई सचिव बढुवामा हेरेको हेरै पारिदिएका छन्।
सुवेदी मात्र होइन शिक्षा सेवा, शिक्षा प्रशासन समूहका सहसचिवहरूले प्रशासन सेवाका सहसचिवहरूलाई अझै रोक्ने देखिन्छ। सुवेदीपछि सचिव बढुवाका लागि शिक्षा सेवा, शिक्षा प्रशासन समूहका सहसचिवहरू कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल र इमनारायण श्रेष्ठ लाइनमा रहेका छन्।
सुवेदी र काप्री २०७० माघमा आन्तरिक प्रतिस्पर्धाबाट शिक्षा सेवा, शिक्षा प्रशासन समूहको सहसचिव भएका थिए। अर्याल खुला र श्रेष्ठ आदिवासी/जनजाति कोटाबाट शिक्षातिरको सहसचिव बनेका हुन्। सहसचिव श्रेष्ठ भ्रष्टाचारमा डामिएर अहिले निलम्बित अवस्थामा छन्।
सोमबार मात्र सचिवमा बढुवा भएका सुवेदी ५८ वर्षे उमेर हदका कारण साढे दुई महिनापछि (भदौं १८ गते) अनिवार्य अवकाशमा जाँदैछन्। सुवेदीको ठाउँमा अहिले पछि परेका डण्डुराज घिमिरे सचिवमा बढुवा हुनेछन्। त्यसपछि गृहसचिव गोकर्णमणि दुवाडी मंसिर १० गते ५ वर्षे अवधिका कारण सचिवबाट सेवानिवृत्त भएपछि शिक्षा प्रशासन समूह कै कृष्णप्रसाद काप्री सचिवमा बढुवा हुनेछन्।
मुख्यसचिव एकनारायण अर्यालले मंसिर प्राकृतिक तरिकाले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाए भने उक्त ठाउँमा १ जना सचिव मुख्यसचिव बन्नेछन्। दुवाडी नै मुख्यसचिव बने भने सचिव खाली हुनेछैन। दुवाडीबाहेक अन्य सचिव मुख्यसचिव बने भने उक्त रक्त स्थानमा शिक्षा कै बैकुण्ठप्रसाद अर्याल सचिवमा बढुवा हुने देखिन्छ।
इमनारायण श्रेष्ठको भने विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेकाले उनले सफाइ पाएर सचिव बन्ने सम्भावना निकै कम छ। श्रेष्ठ ५८ वर्षे उमेर हदका कारण चैत २८ गते नै अनिवार्य अवकाशमा जानेछन्। त्यसैले उनी सचिव हुने सम्भावना कमजोर देखिन्छ।
शिक्षा सेवा, शिक्षा प्रशासन समूहका खगेन्द्रप्रसाद नेपाल, चूडामणि पौडेल, हरिप्रसाद लम्साल र कमलप्रसाद पोखरेल अहिले सचिवको भूमिकामा छन्। उक्त सूचीमा खगेन्द्रप्रसाद सुवेदी पनि थपिएका छन्। नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (विशेष दरबन्दी), पौडेल शिक्षा मन्त्रालय, लम्साल युवा तथा खेलकुद मन्त्रालय र पोखरेल सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव हुन्। सचिवमा बढुवा भएका सुवेदीको पदस्थापनको टुंगो लागिसकेको छैन। शिक्षाबाटै लवदेव अवस्थी र महाश्रम शर्मा छोटो समयमा लागि सचिव भएका थिए। उक्त नजिर सुवेदीको हकमा पनि दोहोरिएका छ।
निर्वाचन आयोगका सचिव भरतमणि सुवेदी पनि शिक्षा सेवा, पुरातत्त्व समूहको सहसचिवबाट सचिव भएका हुन्। शिक्षा प्रशासन समूहबाट सचिव भएका सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं र टेकनारायण पाण्डेले सचिवको ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गैसकेका छन्।
क्याटेगोरी : समाचारट्याग : #इमनारायण श्रेष्ठ, #कमलप्रसाद पोखरेल, #कृष्णप्रसाद काप्री, #चूडामणि पौडेल, #टेकनारायण पाण्डे, #डा. खगेन्द्र प्रसाद सुवेदी, #डा. हरिप्रसाद लम्साल, #देवकुमारी गुरागाईं, #बैकुण्ठप्रसाद अर्याल, #भरतमणि सुवेदी, #महाश्रम शर्मा, #लवदेव अवस्थी, #सूर्यप्रसाद गौतम
तपाईको प्रतिक्रिया दिनुहोस