लास जलाउने मेसिनमा भएको भ्रष्टाचारबाट जोगिन खत्रीले गरेका सबै प्रयास असफल

काठमाडौं। लास जलाउने मेसिन (फर्नेस) खरिद घोटालामा पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पनि भ्रष्टाचारमा डामिएका छन्। पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको नयाँ जलहरी फेर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापा निलम्बनमा परे। थापा निलम्बित भएपछि परिषद् सदस्य रहेका खत्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष सुदन किराँतीले सदस्यसचिव बनाएका थिए। खत्री सदस्यसचिव भएपछि नै अनियमित तरिकाले ठेकेदार मनोज पुरीलाई एक करोड ८२ लाख पेस्की भुक्तानी गरिएको हो।
कोषका तत्कालीन अध्यक्ष किराँती कै अग्रसरतामा लास जलाउने मेसिन खरिद गर्ने निर्णय भएको थियो। कोषको बोर्डले निर्णय गरेपछि तत्कालीन अध्यक्ष किराँतीको दबाबमा ४ वटा फर्नेस मेसिन र एउटा जेनेरेटर खरिद गर्ने प्रक्रिया अघि बढ्यो। लास जलाउने मेसिनमा ‘प्रिपेड कमिसन’को खेल भएको कोषभित्र चर्चा सुनिन्छ।
मन्त्री किराँती निकट ठेकेदार मनोज पुरीले लास जलाउने मेसिन आपूर्ति गर्ने ठेक्का पाए। किराँतीले लास जलाउने मेसिन किन्न निरन्तर दबाब दिएपछि कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतका कर्मचारी त कार्यालय नै आउन छाडेका थिए। सदस्यसचिव थापा जलहरी काण्डमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा किराँतीले खत्रीलाई सदस्यसचिवको जिम्मेवारी दिए। त्यसपछि पेस्की दिनेदेखि खरिदका सबै काम द्रूत गतिमा अघि बढ्यो।
जलहरी काण्डमा विशेष अदालतबाट सफाइ पाएर थापा कोषमा फर्किएपछि खत्री सदस्यसचिवबाट स्वत: हटे। थापाले थप भुक्तानी रोकिदिए। भुक्तानी पाउनका लागि ठेकेदार पुरी अख्तियारदेखि अदालतसम्म धाए। यसैबीच अख्तियारले विस्तृत छानबिन गरेर भ्रष्टाचार मुद्दा दायर गऱ्यो भने उच्च अदालत पाटनले पनि भुक्तानी दिन आदेश दियो।
अख्तियार विस्तृत छानबिन थालेपछि पेस्की निकासा गर्ने खत्रीले अख्तियारका एक आयुक्तसँग पहुँच बनाए। खत्री फलफूल र तरकारी लिएर निवासमै भेट्न जाने गरेको जानकारहरू बताउँछन्। थापालाई ठेगान लगाएर २ महिनापछि सदस्यसचिव बन्ने दाउमा रहेका खत्रीले सम्बन्धित आयुक्तसँग पहुँच पुऱ्याएर प्रतिवादीबाट आफ्नो नाम हटाएको स्रोतको दाबी छ। त्यसपछि अख्तियार कै अर्का आयुक्त प्रक्रिया अघि बढाउनेलाई मात्र मुद्दा चलाउने पेस्कीदेखि खरिदका तमाम काम गर्नेलाई उन्मुक्ति दिने भनेर कडा रूपमा प्रस्तुत भएको स्रोतको भनाइ छ। अख्तियार कै आयुक्तहरूबीच राय बाझिएपछि सुदन किराँतीका विश्वासपात्र खत्री पनि अन्ततः लास जलाउने मेसिन (कात्रोमा कमिसन) भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका छन्। झन्डै १ दर्जन कर्मचारीमाथि भ्रष्टाचार मुद्दा चल्दा कोष नै खाली हुने अवस्थामा पुगेको छ।
अख्तियारले ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनलाई १ करोड ५२ लाख नेपाली रुपैयाँ पर्ने देखाई एवं प्रचलित कानूनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वभाविक रुपले बढी लागत अनुमान तयार गरेको अभियोग लगाएको छ। अख्तियारले पेस्की भुक्तानीदेखि खरिद प्रक्रिया कै विषयमा समेत अनियमितता भएको देखाएको छ। अख्तियारले तत्कालीन पर्यटनमन्त्री किराँतीलाई उक्त काण्डमा नतानेपनि उनले सदस्यसचिव बनाएर पेस्की निकासा गर्न भूमिका खेल्ने विश्वासपात्र खत्रीलाई भ्रष्टाचारमा डामेको हो।
क्याटेगोरी : समाचारट्याग : #राजुकुमार खत्री
तपाईको प्रतिक्रिया दिनुहोस