मिलन थापासँग ‘मुख मिल्दा’ भ्रष्टाचार मुद्दा चल्नबाट जोगिए कोषाध्यक्ष नारायण सुवेदी


काठमाडौं। विद्युतीय शवदाह उपकरण खरिदमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी भ्रष्टाचार मुद्दा लाग्नबाट जोगिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उक्त प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दा प्रतिवादीमा कोषाध्यक्ष सुवेदीको नाम समावेश छैन।

पशुपतिनाथ मन्दिरमा भेटी चोरी प्रकरणमा समेत मुछिएका विवादित कोषाध्यक्ष सुवेदी विद्युतीय शवदाह उपकरण खरिद घोटालामा भने सर्लक्कै जोगिएका छन्। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य समेत रहेका कोषाध्यक्ष सुवेदी भ्रष्टाचार मुद्दा लाग्नबाट बालबाल बाचेको पाइन्छ।

कोषाध्यक्ष सुवेदीलाई भ्रष्टाचार मुद्दा नलाग्नुको पछाडि निलम्बित सदस्यसचिव डा. मिलनकुमार थापाको बयान पनि मुख्य कारण देखिन्छ। कोषाध्यक्षले भुक्तानी निकासा नदिएका कारण ठेक्का कार्य सम्पन्न नभएको निलम्बित सदस्यसचिव डा. थापाले अख्तियारमा बयान दिएका छन्। उक्त बयान नै कोषाध्यक्ष सुवेदीका लागि भ्रष्टाचार मुद्दाबाट बच्ने ‘सञ्जीवनी बुटी’ बनेको हो।

कोषाध्यक्ष सुवेदीले ठेक्का प्रक्रिया शुरु गर्दा र हालसम्म पनि स्रोतको सुनिश्चित नभएको बयान दिएका छन्। ‘परिषद्को बैठकमा प्रस्तावहरु अध्यक्ष, ससदस्य सचिव र कार्यकारी बाट पेस हुने गरेको, मिति २०८०/१/२४ को परिषद्को बैठकमा मलगायत अन्य केही सदस्यहरुले तत्कालको मागको आधारमा जम्मा २ वटा मात्र मेशिन खरिद गर्न सुझाएको हो के कति कारणले ४ वटा विद्युतीय शवदाह मेशिन खरिद गर्ने निर्णय गरियो थाहा भएन’, सुवेदीले बयान दिने क्रममा भनेका छन्, ‘जडान भएका विद्युतीय शवदाह मेशिनको गुणस्तरको सम्बन्धमा मेशिन अपरेटरसँग बुझ्दा थप स्पष्ट हुने देखिन्छ। हाल ठेक्काको अवस्था नटुङगिएको, भुक्तानी निकासा सम्बन्धमा सदस्यसचिवबाट काठमाडौं महानगरपालिकाले दिने भनेको रकमको अवस्था के कस्तो अवस्थामा रहेको छ विवरण नआईसकेको हुनाले रोकिएको हो।नियमसंगत भुक्तानी रोकिने अवस्था रहँदैन।’,

निमित्त सदस्यसचिव राजुकुमार खत्रीले पनि बिल भुक्तानीको सम्बन्धमा कोषाध्यक्षलाई पटकपटक अनुरोध गरेकोमा निकासा हुन सकेको भनेर बयान दिएका छन्। थापा र खत्रीको बयान र उनको बयानमा मुख मिल्दा कोषाध्यक्ष सुवेदी भ्रष्टाचार मुद्दामा डामिनबाट जोगिएका छन्। थापाले भुक्तानी नहुनुमा कोषाध्यक्ष सुवेदीलाई दोष दिएपछि उनलाई हाइसञ्चो भएको हो।

जलहरी काण्डमा भ्रष्टाचार मुद्दा लागेर थापा निलम्बित भएपछि निमित्त सदस्यसचिव बनेका खत्रीले कोषमा उत्पात मच्चाएको पाइन्छ। विद्युतीय शवदाह उपकरण खरिदको सम्झौतादेखि प्रथम रनिङ बिल भुक्तानीसम्ममा खत्रीको हात रहेको देखिन्छ। आफू थप निमित्त सदस्यसचिवको जिम्मेवारीमा भएर विद्युतीय शवदाह उपकरण ठेक्कालाई टुंगोमा पुऱ्याउने खत्रीको बयान छ।

असम्बन्धित व्यक्तिलाई विद्युतीय शवदाह उपकरण हेर्न पठाउने नाममा भारतमा तीर्थाटन गराउने र झन्डै ५ लाख भ्रमण भत्ता उपलब्ध गराउन पनि निमित्त सदस्यसचिव खत्रीको भूमिका देखिन्छ।थापा निलम्बनमा परेपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले खत्रीलाई निमित्त सदस्यसचिव बनाएका थिए। उनको पालामा विद्युतीय शवदाह उपकरण खरिदमा फटाफट काम भएको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #नारायणप्रसाद सुवेदी, #मिलनकुमार थापा, #राजुकुमार खत्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ