सुदन किराँतीले पशुपतिको निमित्त सदस्यसचिव बनाएका राजुकुमार खत्रीको बदमासी


काठमाडौं। विद्युतीय शवदाह उपकरण घोटालामा डामिएका पशुपति क्षेत्र विकास कोषका सदस्य राजुकुमार खत्री एकपछि अर्को बदमासीमा मुछिएको पाइएको छ। पशुपति आर्यघाटको बालुवा ठेक्कामा लगाउनेदेखि विद्युतीय शवदाह उपकरण घोटालामा उनी जोडिएका छन्।

पशपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलनकुमार थापा सुनको जलहरी काण्डमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परे। त्यसपछि तत्कालीन पर्यटनमन्त्री किराँतीले पशुपति क्षेत्र विकास कोषका सञ्चालक सदस्य रहेका खत्रीलाई निमित्त सदस्य सचिव बनाएका थिए। २०८० असोज १६ गतेदेखि २०८१ बैशाख १९ गतेसम्म ७ महिना बढी निमित्त सदस्यसचिव चलाएका खत्री श्रृंखलाबद्ध अनियमिततामा जोडिएको पाइन्छ।

आर्यघाट बागमतीको बालुवा ठेक्कामा जोडिएका खत्रीले विद्युतीय शवदाह उपकरणमा पनि ठूलो बदमासी गरेको पाइन्छ। निमित्त सदस्यसचिव खत्रीले उक्त पदमा रही विद्युतीय शवदाह उपकरण खरिद कार्यको ठेक्का सम्झौता गर्ने/गराउने, पेश्की रकम भुक्तानी स्वीकृत गरी भुक्तानी दिनेसम्मको कार्य गरेका हुन्।

ठेक्का सम्झौताविपरीत हुने गरी असम्बन्धित ब्यक्तिहरुलाई भारत भ्रमणमा पठाई गैरकानूनी रुपमा दैनिक भ्रमण भत्ता समेत भुक्तानी दिने, जडान गरिएका शवदाह उपकरणको निरीक्षण/परीक्षण गर्ने गराउने, ठेक्का सम्झौताको म्याद समाप्त भएको अवस्थामा समेत प्रथम रनिङ बिल भुक्तानी स्वीकृत गर्ने कार्यमा समेत खत्रीको संलग्नता रहेको पाइन्छ।

एकै पटक सम्झौता बमोजिमको २० प्रतिशत पेश्की रकम समेत भुक्तानी गरी/गराई, अनावश्यक र असम्बन्धित व्यक्तिहरुलाई विदेश भ्रमणमा मनोनयन गरी गराई, सम्झौता अनुसार ठेकेदारको दायित्वमा पर्ने फ्याक्ट्री निरीक्षण गर्नका लागि भारत भ्रमण गर्ने ५ जनालाई भ्रमण भत्ता समेत कोषबाट भुक्तानी दिलाउनमा समेत खत्रीको भूमिका देखिन्छ। विद्युतीय शवदाह उपकरण खरिदमा तत्कालीन निमित्त सदस्यसचिव खत्रीले १ करोड ८२ लाख पेश्की निकासा गरेका थिए भने करबि ५ लाख रुपैयाँ विद्युतीय शवदाह उपकरण अवलोकनका नाममा भारतमा तीर्थाटन गरेबापत भ्रमण भत्ता दिलाएको पाइन्छ।

खत्रीले जडान गरिएका विद्युतीय शवदाह उपकरणको विस्तृत रुपमा चेकजाँच तथा परीक्षण नगराई, कम गुणस्तरको उपकरण स्वीकार ग गरेका छन्। परीक्षण प्रतिवेदनमा देखाइएका कैफियतहरुको समेत बदनियत राखि अनदेखा गरी गराई जडान भएको उपकरण सम्झौता बमोजिमको नै रहेको भनि ठेक्का सम्झौताको म्याद समाप्त हुँदा र ठेकेदारले नियमानुसार ठेक्काको म्याद थपको निवेदन पेस नगरेको अवस्थामा समेत खत्रीले पेश्की निकासा गरेको खुल्न आएको छ।

निमित्त सदस्यसचिव खत्रीले सार्वजनिक खरिद कानुन अनुसार पेश्की समेत फर्छ्यौट नगरी/नगराई पेश्की जमानत (एपीजी) जफतको प्रक्रियामा प्रवेशनै नगरी नगराई बदनियतपूर्ण भूमिका तथा एक आपसमा मिलेमतो गरी उक्त पेश्की रकम बैक ग्यारेण्टी मार्फत असुलउपर हुने अवस्था समेत खत्रीले नराखेका हुन्। उक्त कुकर्मबाट खत्रीले पशुपति क्षेत्र विकास कोषलाई ठूलो हिनामिना/हानिनोक्सानी पुर्‍याएका छन्। त्यसबापत उनले सजाय पनि भेटेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै तत्कालीन निमित्त सदस्यसचिव एवं हालका परिषद् सदस्य खत्री निलम्बनमा परेका छन्।

पशुपति आर्यघाटमा बालुवा ठेक्कामा पनि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी र निमित्त सदस्यसचिव खत्रीले अनियमितता गरेको आरोप छ। यो विषयमा अख्तियारको नजर पर्न जरूरी देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #राजुकुमार खत्री

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ