सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका गुठी संस्थानका पदाधिकारीहरू

काठमाडौं। सरकारले मनोनित गरेका गुठी संस्थानका सदस्य र प्रशासक सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छन्। किरण शाक्यलाई हटाएर गुठी संस्थानको प्रशासक बनेका शैलेशराज कुँवर सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छन्। गुठी कै सदस्यमा मनोनित भएका दिपकराज पाठक, केशरत्न बज्राचार्य र टेकराज पौडेल पनि अदालतमा मुद्दा खेप्न थालेका हुन्। उनीहरूको योग्यता र नियुक्ति प्रक्रियाको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको हो।
तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई प्रयोग गरेर गुठी संस्थानको प्रशासकमा नियुक्त भएका कुँवर बल्ल काममा फर्किएका छन्। रञ्जिताले किरण शाक्यलाई अवधि नपुगी हटाएर कुँवरलाई प्रशासक बनाएकी थिइन्। उक्त निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगे। अदालतबाट अन्तरिम आदेश लिएर आएका शाक्यले पूरा कार्यकाल चलाए। उनको कार्यकाल सकिएपछि मात्र कुँवर प्रशासकको जिम्मेवारीमा फर्किए। न्युरोड शुक्रपथको पार्किङ्गको ठेकेदार रहेका कुँवरको योग्यता र नियुक्ति प्रक्रियालाई लिएर शाक्यले हालेको रिट अझै सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। उनी अहिले पनि सर्वोच्च अदालत धाइरहेका छन्।
गुठीका प्रशासन मात्र होइन नेपाल सरकारले नियुक्त गरेका तीन सदस्यलाई पनि सर्वोच्च अदालतले काम गर्न रोक लगाएको छ। गुठी संस्थानका सदस्यत्रय दिपकराज पाठक, केशरत्न बज्राचार्य र टेकराज पौडेलको नियुक्ति प्रक्रिया र योग्यतामाथि प्रश्न उठाउँदै दिपकबहादुर पाण्डेले हालेको रिटमा सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। उनीहरू पनि कुँवर जस्तै सर्वोच्च अदालत धाउनेमा परेका छन्। झट्ट हेर्दा गुठी संस्थान नै अदालत धाइरहेको र मुद्दा खेपिरहेको भान हुन्छ। वास्तविकता पनि त्यस्तै देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #केशरत्न बज्राचार्य, #गुठी संस्थान, #टेकराज पौडेल, #दिपकराज पाठक, #शैलेशराज कुँवर
तपाईको प्रतिक्रिया दिनुहोस