अवकाशको मुखमा सहसचिव ढकालले किन छाडे रक्षा मन्त्रालय?


काठमाडौं। अवकाशको मुखमा रहेका सहसचिव ज्ञानप्रसाद ढकालले रक्षा मन्त्रालय छाडेका छन्। तुलानात्मक रूपमा कम विवादित मानिने रक्षा मन्त्रालयबाट सरूवा मागेर अवकाशको मुखमा सहसचिव ढकाल हिँडेका हुन्। मंसिरको पहिलो साता (३ महिनापछि) अवकाश हुने सूचीमा रहेका रक्षा मन्त्रालयको योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख समेत रहेका सहसचिव ढकाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका छन्। रक्षा मन्त्रालयमा भने थारू आयोगका सचिव कृष्ण पौडेलको सरूवा भएको छ।

भविष्यमा नेपाली सेनाले निर्माण गरिरहेका ‘फास्ट ट्रयाक’मा मेलम्ची काण्ड दोहोरिने खतरा देखेपछि अवकाशको मुखमा रहेका ढकालले रक्षा मन्त्रालय नै छाडेको चर्चा छ। काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को फेरि म्याद थप्नु पर्ने र उक्त आयोजना कहिले सम्पन्न हुने भन्ने निश्चित नभएपछि त्यो झमेलाबाट उम्किन उनी श्रमतिर लागेका हुन्। अवकाशको मुखमा सम्मानजन बहिर्गमन (ग्रेसफूल एक्जिट) लिनका लागि रक्षामा रक्षा नहुने देखेपछि उनले मन्त्रालय छाडेको पाइन्छ।

मंसिरमै अवकाश हुन लागेका गृहको जगेडामा रहेका सहसचिव लालबाबु कवारी र मंसिरमै घर जान लागेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल पनि मन्त्रालयबाट आउट भएका छन्। कवारी मधेश प्रदेश र दाहाल राष्ट्रिय समावेशी आयोगमा सरूवा भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #कुमारप्रसाद दाहाल, #कृष्ण पौडेल, #ज्ञानप्रसाद ढकाल, #लालबाबु कवारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ