आफ्नो ‘ब्याच’बाट पूरा कार्यकाल सचिव चलाउने मधुसुदन बुर्लाकोटी 


काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी उनका ‘ब्याच’बाट पूरा कार्यकाल चलाउने एकमात्र सचिव हुन्। २०६८ साल फागुनमा नेपाल प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल बुर्लाकोटी अहिले उनका ‘ब्याच’बाट उनी मात्र सरकारी सेवामा रहेका छन्।

बुर्लाकोटीसँगै मुकुन्दप्रसाद पौड्याल, दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे सहसचिव भएका थिए। पौड्याल, रेग्मी र पाण्डे सचिव भए पनि पूरा कार्यकाल चलाउन पाएनन्। बुर्लाकोटी भने ५ वर्ष सचिव चलाएर घर जाने सूचीमा छन्।

पौड्याल सचिवमा बढुवा भएपछि छोटो समय बागमती प्रदेशको प्रमुख सचिव भएर घर गए। उनले २०७८ बैशाख ९ गतेदेखि साउन २५ गतेसम्म साढे ३ महिना बागमतीको प्रमुख सचिव चलाएर अनिवार्य अवकाशमा (घर) गए। उनले २०७८ बैशाख ९ गतेदेखि साउन २५ सम्म साढे ३ महिना बागमतीको प्रमुख सचिव चलाएर अनिवार्य अवकाशमा (घर) गए। पौड्याल मेलम्ची भ्रष्टाचारमा समेत मुछिएर सफाइ पाएका व्यक्ति हुन्। पौड्याल २०२० साल साउन २६ गते काभ्रेपलाञ्चोकको दाप्चामा जन्मिएका हुन्।

२०७८ असार २० गते सचिवमा बढुवा भएका दामोदर रेग्मी दुई वर्ष बढी सचिव चलाएर घर गए। उनी गण्डकी प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव र सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव भएर २०८० कार्तिक १० गते अवकाशमा गएका हुन्। रेग्मी २०२२ साल कार्तिक ११ गते पाल्पामा जन्मिएका हुन्।

२०७८ असार २० गते नै जेष्ठताका आधारमा सचिवमा बढुवा भएका गणेशप्रसाद पाण्डे पनि सचिवको पूरा कार्यकाल नचलाई घर गए। पाण्डे ४ वर्ष सचिव चलाएर २०८२ साल बैशाखमा ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएका थिए।

पाण्डे कर्णाली प्रदेशको प्रमुख सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव, महालेखा नियन्त्रकलगायतको भूमिकामा काम गरेर सरकारी सेवाबाट बिदा भए। पाण्डे २०२४ साल बैशाख ३० गते बाग्लुङमा जन्मिएका हुन्।

२०२५ साल भदौ महिनाको २७ गते धादिङको सल्यानटारमा जन्मिएका मधुसुदन बुर्लाकोटी उनको ‘ब्याच’बाट ५ वर्ष सचिव चलाउने एक्ला व्यक्ति हुन्। २०७८ साल २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी ५ वर्ष नै सचिव चलाउन भ्याउँछन्। सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव, उपराष्ट्रपति कार्यालयको सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव र राष्ट्रिय तथ्याङ्क कार्यालय जस्ता निकायको नेतृत्व गरिसकेका बुर्लाकोटी मुख्यसचिवको प्रतिस्पर्धामा छन्।

गोकर्णमणि दुवाडी, सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य शाक्यपछि बुर्लाकोटी सचिवको बरियतामा रहेका छन्। त्यसपछि कृष्णहरि पुष्कर कर्ण रहेका छन्। दुवाडी र अर्याल खुला प्रतिस्पर्धाबाट, बज्राचार्य आदिवासी/जनजाति कोटाबाट, बुर्लाकोटी आन्तरिक प्रतिस्पर्धाबाट र कर्ण मधेशी कोटाबाट सहसचिव भएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ