पार्वतीलाई प्रधानमन्त्रीको निजी सचिव बनाउन मुख्यसचिव अर्यालको चलखेल, घर जाने बेलामा सरूवा, बढुवाको चक्करमा
काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालले सहसचिव पार्वती शर्माललाई प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिव बनाउन चलखेल थालेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वतीलाई एकनारायणले निजी सचिव बनाउन चलखेल गरेका हुन्।
मुख्यसचिव अर्याल मंगलबारबाट ५८ वर्ष लागेर घर जाँदैछन्। पञ्चेबाजादेखि ‘कुलिङ अफ पिरियड’ देउसीभैलोमा बदनामी कमाएका अर्यालले जाने बेलामा सरूवा र बढुवामा चलखेल गरिरहेको ‘जेन-जी’ कर्मचारीहरू बताउँछन्।
बेमौसमी र अनियमित सरूवा गरेर सरकारलाई नै विवादमा ल्याएकी पार्वतीलाई सुशासनको जगमा बनेको प्रधानमन्त्री कार्कीको निजी सचिव बनाउने कसरत भइरहेको पाइएको हो।
सामान्य प्रशासन मन्त्री रामेश्वर खनाललाई नै विवादमा ल्याउने गरी मुख्यसचिव अर्याल, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, सामान्य सचिव रविलाल पन्थ र पार्वती शर्मा मिलेर सरूवा गरेको आरोप छ। पार्वतीलाई मुख्यसचिव अर्याल र आदर्शले प्रधानमन्त्रीको निजी सचिव बनाउन चलखेल गर्नुले त्यो आरोपमा दम देखिन्छ।
सामान्यको हरेक सरूवामा आदर्शको हस्तक्षेप रहेको र उनलाई मुख्यसचिव अर्याल र पार्वतीले साथ दिएको ‘जेन-जी’ कर्मचारीहरू दाबी गर्छन्। ‘कुलिङ अफ पिरियड’ छेडखानीका नाइके मुख्यसचिव अर्यालले आफू पदमा टिकिरहन आदर्शसँग सौदाबाजी गरेको उनीहरूको आरोप छ। श्रम र सामान्य प्रशासन मन्त्रालय अझै पनि मुख्यसचिव अर्यालले चलाउने गरेको चर्चा छ।
घर जान लागेका मुख्यसचिवको भूमिकाप्रति ‘जेन-जी’ कर्मचारीहरू सशंकित छन्। मुख्यसचिव अर्यालले ‘कुलिङ अफ पिरियड’ छेडखानीमा आरोपित मिरा आचार्यलाई प्रधानमन्त्रीको निजी सचिव बनाउन खोजेका थिए। ‘जेन-जी’हरूले विरोध गरेपछि उनी रोकिए। अहिले फेरि मुख्यसचिव अर्यालले सामान्यमा सरूवा बेथिति भित्र्याउने पार्वतीलाई प्रधानमन्त्रीको निजी सचिव बनाउन खोजेपछि ‘जेन-जी’हरू उनको भूमिकालाई लिएर असन्तुष्ट देखिन्छन्। ‘जेन-जी’हरूले सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय गरेको सरूवाहरू छानबिन गर्नुपर्ने माग राख्दै आएका छन्। उक्त अनियमिततामा जोडिएकी पार्वतीलाई प्रधानमन्त्रीको निजी सचिव बनाउन चलखेल गरेपछि ‘जेन-जी’हरू मुख्यसचिवसँग आक्रोशित बनेका छन्।
अहिले प्रधानमन्त्री कार्कीको निजी सचिवालयमा उपसचिव सिर्जना शर्मा, शाखा अधिकृतद्वय चुडामणि बस्याल र डा. गणेशप्रसाद खनाल रहेका छन्। सहसचिव खाली रहेकोमा मुख्यसचिव अर्यालले पार्वतीलाई ल्याउन खोजेका हुन्। सरूवा विवाद छल्न चीनतिर छड्किएकी पार्वती नेपाल फर्किनेबित्तिकै प्रधानमन्त्रीको निजी सचिव बनेर जाने चलखेलमा लागेको पाइन्छ।
मुख्यसचिव अर्यालले जाँदाजाँदै १ दर्जन जति सहसचिवको सरूवा गर्न कसरत गरिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो। घर जाने बेलामा पनि उनी सरूवामा लिप्त भएको देखेर प्रधानमन्त्री निकट अधिकारीहरू समेत आश्चर्यमा परेका छन्। अर्यालले आफ्ना ‘एस-म्यान’ सचिवलाई मुख्यसचिव बनाउन समेत चलखेल गरिरहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ। उनले केही नियुक्तिहरूमा समेत चलखेल गरिरहेको बताइन्छ।घर जान लागेका मुख्यसचिव अर्याल अन्तिम अवस्थामा पनि विवादित बन्न खोजिरहेका छन्। अर्यालका गतिविधि हेर्दा पनि निजामती प्रशासनमा ‘कालो धब्बा: लगाएर घर जाने तयारीमा देखिन्छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस