यस्तो छ प्रधानमन्त्री कार्कीको सल्लाहकार र विज्ञ टिम


काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीको ६ सदस्यीय सल्लाहकार टिम बनेको छ। मुख्य सल्लाहकारदेखि निजी चिकित्सकसम्म गरेर प्रधानमन्त्री कार्कीको ६ सदस्यीय सल्लाहकार टिम बनेको हो।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार अजयभद्र खनाल रहेका छन्। उनी असोज १२ गते प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त भएका छन्। जनसम्पर्क सल्लाहकारका गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। खनाल र तिमिल्सिना एकैदिन प्रधानमन्त्री कार्कीको सल्लाहकारमा नियुक्त भएका हुन्।

प्रधानमन्त्रीको निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मानबहादुर केसी नियुक्त भएका छन्। राज्यबाट कुनै सुविधा नलिने गरी उनी प्रधानमन्त्री कार्कीको अवैतनिक निजी चिकित्सक नियुक्त भएका हुन्। डा. केसी असोज २२ गतेदेखि प्रधानमन्त्री कार्कीको निजी चिकित्सक बनेका हुन्।

प्रधानमन्त्री कार्कीको प्रेस संयोजक रामबहादुर रावल रहेका छन्। राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सरहको सुविधा पाउने गरी उनी प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा नियुक्त भएका हुन्। रावलले असोज २८ गतेदेखि प्रधानमन्त्री प्रेस संयोजकको जिम्मेवारी सम्हालेका हुन्।

प्रधानमन्त्री कार्कीको सूचना, प्रविधि तथा सञ्चार विज्ञमा अरूण कटुवाल र युवा तथा सामाजिक विकास विज्ञमा प्रदिप ज्ञवाली नियुक्त भएका छन्। असोज २८ गतेदेखि आईटी र युवाको कमाण्ड सम्हालेका कटुवाल र ज्ञवाली शाखा अधिकृतसरह सुविधा लिएका छन्। प्रधानमन्त्रीको सल्लाहकार समूहमा खनाल र तिमिल्सिना तथा विज्ञ समूहमा डा. केसी, रावल, कटुवाल र ज्ञवाली रहेका छन्।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमती संगितालाई सहसचिवसरहको नियुक्ति दिलाउँदा आईटी र युवा विज्ञ भने शाखा अधिकृतसरहको सुविधा लिएर काममा खटिएका छन्। आदर्शले प्रधानमन्त्रीको बदनाम गराउन सक्रिय हुँदा उनीहरू भने प्रधानमन्त्रीलाई विवाद हुनबाट जोगाउन र जनतासँग जोड्न सक्रिय छन्। प्रधानमन्त्रीको सचिवालयलाई जम्बो बनाएर ‘जेन-जी’ आन्दोलनको मर्म र भावनामाथि प्रमुख स्वकीय सचिव आदर्श र मुख्यसचिव एकनारायण अर्यालले प्रहार गरिरहेका छन्। उनीहरूको कर्तुतको विषयमा ‘जेन-जी’ अगुवा र कर्मचारी आक्रोशित देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #अजयभद्र खनाल, #अरूण कटुवाल, #गोविन्द नारायण तिमिल्सिना, #डा. मानबहादुर केसी, #प्रदिप ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ