गुठी संस्थानको सञ्चालक मनोनित भएका तीनै जनाले कार्यभार सम्हाले


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङनामले गुठी संस्थानको सञ्चालक सदस्यमा मनोनित गरेका तीनैजनाले कार्यभार सम्हालेका छन्। मन्त्री इङनामले शान्ता भण्डारी श्रेष्ठ, कालीदास देवकोटा र विकास शाक्यलाई मनोनित गरेका थिए। उनीहरू तीनै जनाले गुठी संस्थानको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरमा पुगेर कार्यभार सम्हालेका हुन्। सञ्चालकत्रयलाई प्रशासन शैलेशराज कुँवरले स्वागत गरेका छन्।

गुठी संस्थानको सदस्यमा मनोनित भएकी शान्ता काठमाडौं स्कूल अफ ल (केएसल)की सहायक प्राध्यापक हुन्। कानुनमा स्नातकोत्तर (एलएलएम) गरेकी शान्ता भूमिमन्त्री इङनामकी पूर्वसहकर्मी हुन्। उनको शैक्षिक योग्यता राम्रै देखिन्छ।

गुठी संस्थानको सदस्यमा मनोनित भएका कालीदास देवकोटा भने स्वार्थ बाझिने व्यक्ति हुन्। सिन्धुली खुर्कोटका कालीदास घर-जग्गा कारोबारी रहेको उनी निकट व्यक्तिहरू बताउँछन्। नेकपा एमाले निकट कालीदासका सहोदर भाइ केशव देवी ज्ञवाली अध्यक्ष हुँदा भूमि समस्या समाधान आयोगका केन्द्रीय सदस्य थिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलका घनिष्ठ मित्र कालीदास गुठी संस्थानको सञ्चालकमा मनोनित हुन सफल भएका छन्। कुनै बेलाका चर्चित पश्मिना व्यापारी कालीदास सचिव भुजेलसँग नियमित उठबस गर्ने व्यक्ति हुन्। कालीदास सचिवसँग विदेश समेत सँगै शयर गर्ने गरेको तस्विरहरूबाट पुष्टि हुन्छ।

पेप्सीकोलाको फुटबल ग्राउण्डसँगै घर भएका कालीदास एक्कासी गुठी संस्थानको सदस्य बनेपछि चर्चामा आएका हुन्। पेप्सीकोलामा अरूको भन्दा भिन्न निवास बनाएर बसेका कालीदासलाई त्यो क्षेत्रमा नचिन्ने कमै छन्। भूमि मन्त्रालयका सचिव भुजेल पनि पेप्सीकोला निवासी हुन्। उनकै विश्वास जितेर कालीदास गुठी संस्थानको सञ्चालकमा मनोनित भएको चर्चा छ।

नेपाली सेनाका पूर्व कर्णेल विकास शाक्य पनि गुठी संस्थानको सञ्चालक बन्न सफल भएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ७ निवासी शाक्य शान्ता र कालीदाससँगै गुठी संस्थानको सञ्चालकमा मनोनित भएका हुन्।

गुठी संस्थान ऐन, २०३३ को दफा ९ (१), (च) मा नेपाल सरकारले देशका धार्मिक, सामाजिक क्षेत्रबाट मनोनित गरेका गुठीसम्बन्धी अनुभव प्राप्त व्यक्ति गुठी संस्थानको सञ्चालक समिति सदस्य हुनेछ भन्ने उल्लेख छ। त्यस्तै दफा ११ मा संस्थानसँगको ठेक्कामा सरिक रहेको वा संस्थानसँगको कुनै कारोबारमा निजी आर्थिक स्वार्थ निहीत रहेको व्यक्ति गुठी संस्थानको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था रहेको छ।

यसअघिका गुठी संस्थानका सञ्चालकहरू दिपकराज पाठक, टेकराज पौडेल र केशरत्न बज्राचार्यलाई सर्वोच्च अदालतले कामकाज गर्न रोक लगाएको थियो। पाठक र पौडेलले राजीनामा दिइसकेका छन्। बज्राचार्यले राजीनामा नदिएपछि भूमिमन्त्री इङनामले तीन सञ्चालकलाई गुठी संस्थानको सञ्चालकमा मनोनित गरेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #कालीदास देवकोटा, #गुठी संस्थान, #विकास शाक्य, #शान्ता भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ