म्यादी मन्त्री डा शर्माद्वारा डा बुढाथोकीलाई गुणस्तर महाशाखा प्रमुख बनाउन कर्मचारीलाई मानसिक दबाब
काठमाडौं । म्यादी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले सरकार परिवर्तनको पूर्वसन्ध्यामा कर्मचारी हेरफेर गर्ने तयारी भएको भन्दै मन्त्रालयभित्रै चर्चा सुरु भएको छ।
म्यादी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा नेतृत्व परिवर्तन गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार डा. शराेज शर्मा हटाएर डा. प्रकाश बुढाथोकीलाई उक्त महाशाखाको प्रमुखको जिम्मेवारीमा ल्याउन कर्मचारी प्रशासनमा चर्को दबाब दिएकी छन्।
मन्त्रालयका अधिकारीहरूका अनुसार मन्त्री शर्माले बुढाथोकीलाई महाशाखा प्रमुख बनाउने विषयमा प्रशासनिक तहमा दिनहुँ दबाब दिइरहेकी छन्। सरकार परिवर्तनको सम्भावना नजिकिँदै गरेको अवस्थामा महत्वपूर्ण महाशाखामा सरुवा गर्ने प्रयासले मन्त्रालयभित्र बहस सुरु भएको बताइएको छ।
स्वास्थ्य क्षेत्र सुधारको आवश्यकता व्यापक रूपमा उठिरहेका बेला म्यादी अवधिमा कर्मचारी हेरफेर गर्न खोजिएको विषयलाई लिएर प्रशासनिक तहमा समेत असन्तुष्टि देखिएको स्रोतले जनाएको छ।
केही कर्मचारीले भने नयाँ सरकार गठन हुनुअघि महत्वपूर्ण निर्णय गर्न खोज्नु उपयुक्त नहुने धारणा राखेका छन्। कर्मचारी प्रशासन शाखाले यस्ता निर्णयबारे सावधानी अपनाउनुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।
क्याटेगोरी : समाचारट्याग : ##mohp nepal


तपाईको प्रतिक्रिया दिनुहोस