अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना कता लापत्ता भए?


काठमाडौं। नेपाल सरकारका सहसचिव नरेन्द्रकुमार राना महिनौदेखि लापत्ता हुँदा पनि सरकार वेखबर छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोज्दा समेत सहसचिव राना फेला परेका छैनन्। रानाको विषयमा स्वास्थ्य लाइभले बुझ्न खोज्दा समेत उनीसँग सम्पर्क हुन सकेको छैन। सहसचिव रानाले प्रयोग गर्दै ९८५७८…६८ नम्बरको मोबाइल नम्बर समेत बन्द रहेको पाइएको छ। निकै प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन नसकेको हो।

सहसचिव रानाको लोक सेवा आयोगबाट २०८२ साल बैशाख २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा भएको देखिन्छ।  त्यसको एक महिना बितेपछि लोक सेवा आयोगको जलेश्वर कार्यालयबाट राना २०८२ जेठ ८ गते रमाना भएको सूचना स्वास्थ्य लाइभलाई प्राप्त भएको छ। राना अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएको रेकर्डबाट देखिँदैन। मन्त्रालयले उनलाई तलब समेत खुवाएको पाइँदैन। नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) १० महिनादेखि बेपत्ता हुँदा पनि सरकार वेखबर देखिएको हो।

निजामती कर्मचारी जानकारी नै नदिई ९० दिनभन्दा बढी कार्यालय अनुपस्थित भए त्यस्ता कर्मचारीलाई जागिरबाट हटाउने कानुनी व्यवस्था छ। सहसचिव रानाले त्यस्ता ३ वटा ९० दिन कटाए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई अझैसम्म जागिरबाट हटाएको छैन। यस्ता बेथिति हटाएर कानुन कार्यान्वयन गर्न बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपनि लापत्ता सहसचिव रानामाथि सरकारले कुनै एक्सन लिन सकेको देखिँदैन। यसमा प्रधानमन्त्री बालेन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ।

२०७८ कार्तिकमा सहसचिव भएका माओवादी सत्ताका तरमारा सहसचिव राना अर्थ मन्त्रालयबाट लोक सेवा आयोग पुगेका थिए। सहसचिव हुनेबित्तिकै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका राना २०७९ पुसमा भरतपुर महानगरपालिका सरूवा भएका थिए। भरतपुर महानगरपालिकामा मेयर रेणु दाहालसँग मिलेर काम गरिरहेका राना वर्षमान पुन अर्थमन्त्री बनेपछि मन्त्रालय भित्रिए। अर्थ मन्त्रालय भित्रिएलगत्तै रानाले सबैभन्दा महत्त्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बने। अर्थमन्त्री पुनले सहसचिव रानालाई धितोपत्र बोर्डको कार्यवाहक अध्यक्ष समेत बनाए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्नेबित्तिकै माओवादी सत्ताका तरमारा सहसचिव राना लोक सेवा आयोग सरूवा भएर जलेश्वर कार्यालय पुगेका थिए। जलेश्वरमा हुँदा महिलासम्बन्धी ‘केस’ लागेर सहसचिव राना लापत्ता भएको चर्चा छ। तर, उक्त ‘केस’को स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। विषय भने निकै गम्भीर देखिन्छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत सहसचिव रानालाई बयान लिन खोज्दा फेला पार्न सकेको छैन। भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा योग्यता नै नपुगेका सुरेशचन्द्र अधिकारीलाई विज्ञ सल्लाहकारमा नियुक्त गरेर उपसचिवसरहको सेवा सुविधा दिएको विषयमा रानासँग अख्तियारले बयान लिन खोजेको छ। अख्तियारले समेत पटक-पटक खोजी गरेका सहसचिव राना फेला पर्न नसकेका हुन्। सीधै भ्रष्टाचार मुद्दा लाग्नेमा सहसचिव राना सम्पर्कविहीन भएकाले मुद्दा दायर गर्न ढिलाइ भइरहेको अख्तियार स्रोतले बतायो।

२०४० साल माघ १४ गते रूकुममा जन्मिएका राना २०७० भदौमा शाखा अधिकृत भएका थिए। त्यसको ३ वर्ष नपुग्दै २०७३ जेठमा उपसचिव भए। उपसचिव भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएका उनी गृहतिर लागे। सोलुखुम्बु र रोल्पाको सिडिओ र रुकुमको जिल्ला समन्वय अधिकारी राना जागिर खाएको ८ वर्षमै सहसचिव बने। १२ वर्षमा लापत्ता भएका छन्। तारा कुमारी श्रेष्ठ बैबाहिक सम्बन्ध कायम गरेका रानाले मानवविकी तथा समाजिक शास्त्र प्रविणता प्रमाणपत्र तह र स्नातक तह गरेको तथा विज्ञानमा स्नातकोत्तर गरेको पाइन्छ। अझै १६ वर्ष बढी जागिर अवधि रहेका सहसचिव राना लामो समयदेखि लापत्ता भएका हुन्। सुुशासन कायम गर्न बनेेको सरकारले सहसचिव रानालाई खोजेर तुरून्तै अख्तियारलाई बुझाउने वा जागिरबाट बर्खास्त गर्ने दुईमध्ये एउटा काम गर्नुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #सहसचिव नरेन्द्रकुमार राना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ