यी हुन् ६ महिनाभित्र ‘रिटायर्ड’ हुने मुख्यसचिव अर्यालसहित डेढ दर्जन सचिव


काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले व्यापक प्रशासनिक पुनर्संरचना गर्ने तयारी गरिरहेको छ। अनावश्यक मन्त्रालय, आयोग र कार्यालय हटाएर विशिष्ट श्रेणी (सचिव) पद कटौती गर्ने बालेन सरकारको तयारी देखिन्छ। १७ वटा मन्त्रालय राख्न खोजेको बालेन सरकारले करिब १ दर्जन सचिव व्यवस्थापन गर्नुपर्ने हुन्छ। मुख्यसचिव सुमनराज अर्यालसहित झन्डै डेढ दर्जन सचिव ६ महिना अर्थात् २०८३ (असोज)भित्र अवकाशमा जाने देखिन्छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव रामआधार साह वैशाख ९ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा हेर्ने सचिव चीरञ्जीवी चटौत असार १४ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। दुई सचिव रहेको उक्त मन्त्रालयमा चटौत अवकाशमा गएसँगै एउटै मात्र सचिव कायम गर्न सहज हुनेछ।

नेपाल ट्रष्टको कार्यालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य असार १६ गते ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाने सूचीमा छिन्। उनी अवकाशमा गएसँगै उक्त कार्यालयको विषयमा आवश्यक निर्णय लिन बालेन सरकारलाई सहज हुनेछ। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी पनि ५ वर्षे कार्यकाल पूरा गरेर असार २० गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी उद्योगबाट हालै निर्वाचन आयोग सरूवा भएका सचिव हुन्। अब उनी त्यतैबाट अवकाश हुने सम्भावना छ। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते अनिवार्य अवकाशमा जाने भएका छन्। उनी ५ वर्ष सचिव चलाएर अवकाशमा जान लागेका हुन्। अर्थ, श्रम जस्ता मन्त्रालयमा बसेर रजगज गरेका सचिव कर्ण उपराष्ट्रपति कार्यालय पुगेका हुन्। दिपक भट्टको डिजाइनमा सिसि क्यामेराको मुसाले तार काटेपछि राजस्व सचिव रहेका कर्णलाई जनार्दन शर्माले अर्थ सचिव बनाएका थिए। उनै सचिव कर्ण अवकाशको मुखमा पुगेका छन्।

मुख्यसचिव सुमनराज अर्याल ५८ वर्ष लागेर असार २५ गते सेवानिवृत्त हुन लागेका छन्। सुमनपछि किरणराज शर्मा, राजकुमार श्रेष्ठ, रामेश्वर दंगाललगायत मुख्यसचिव बन्ने सम्भावित सूचीमा छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल ५ वर्ष एउटै कुर्सीमा बसेर असार २७ गते अनिवार्य अवकाशमा जाँदैछन्। फरक क्षमता भएका नेपाललाई विशेष दरबन्दी सिर्जना गरेर सचिवमा बढुवा गरेकाले उनी घर गएसँगै त्यो पद स्वतः खारेज हुनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा साउन ३ गते ५ वर्ष सचिव चलाएर घर जाने सूचीमा छन्। सुमनराजपछि मुख्यसचिव नबने किरणराज पनि साउन टेक्नेबित्तिकै अनिवार्य अवकाशमा जानेछन्। युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेल साउन ६ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। युवा तथा खेलकुद मन्त्रालय शिक्षामा गाभिने भएकाले उनीसँगै सचिव पद पनि उड्ने देखिन्छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव हरिप्रसाद मैनाली साउन १८ गते ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा जाँदैछन्। उनको जागिर ४ महिना पनि बाँकी छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मा भदौं २ गते ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। दरबन्दी बिनै स्वास्थ्यमा बसिरहेका शर्माको पनि उचित व्यवस्थापन हुनुपर्ने देखिन्छ। बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी भदौं ३ अनिवार्य अवकाशमा जाँदैछन्। आपूर्तिको दरबन्दी देखाएर जस्केलाबाट छिरेर सचिव बनेका अधिकारी ५ महिनाभित्रै अवकाशमा जाने सूचीमा छन्। उनको प्रदेशबाटै बिदाइ हुने उच्च सम्भावना छ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ भदौं १५ गते ५ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जानेछन्। मुख्यसचिव बन्न नसके उनको सचिवबाटै घर जाने अवस्था आउँछ। भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय हेरिरहेका सचिव गोपालप्रसाद सिग्देल ५ वर्ष सचिव चलाएर असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनीपछि राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजु कुमार वैध असोज १५ गते अवकाशमा जाने सूचीमा छन्। वैध ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा जाँदैछन्। उनीपनि ६ महिनाभित्रै घर जाने सचिवमा पर्छन्। उनीहरूपछि आधा दर्जन सचिव एक वर्षभित्र अवकाशमा जाने सूचीमा छन्। ठूलो संख्यामा सचिवहरू अवकाश हुने भएकाले बालेन सरकारलाई दरबन्दी कटौती गरेर व्यवस्थापन गर्न सहज हुने देखिन्छ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #किरणराज शर्मा, #कृष्णहरि पुष्कर कर्ण, #खगेन्द्रप्रसाद नेपाल, #गोपालप्रसाद सिग्देल, #चीरञ्जीवी चटौत, #प्रमिलादेवी शाक्य बज्राचार्य, #बाबुराम अधिकारी, #मधुसूदन बुर्लाकोटी, #रविलाल पन्थ, #राजकुमार श्रेष्ठ  डिल्लीराम शर्मा, #रामआधार साह, #लोकनाथ पौडेल, #सरजु कुमार वैध, #सुमनराज अर्याल, #हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ