दिपक भट्टसँग कनेक्सन रहेका महानिर्देशक ठाकुरले मुद्दा कमजोर पार्न भूमिका खेलेको आशंका


काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बिचौलिया दिपक भट्टको सम्पत्ति शुद्धीकरणको मुद्दा कमजोर पार्न भूमिका खेलेको आशंका गरिएको छ। दिपक भट्टको इन्फिनिटि होल्डिङ शेयर होल्डर रहेको हिमालय रि-इन्स्युरेन्समा महानिर्देशक ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरको २० हजार कित्ता शेयर रहेको पाइन्छ। उक्त शेयर होल्डर राखी महानिर्देशक ठाकुरकी श्रीमती रहेको पुष्टि भएको हो।

दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा महानिर्देशक ठाकुरले चलखेल गर्दै आएको आरोप लागेको छ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई हाजिरी जमानीमा छाड्नेदेखि अन्य कर्मचारीलाई जोगाउनेसम्म महानिर्देशक ठाकुरले भूमिका खेलेको आरोप लागेको हो।

दीपक भट्ट र शंकर समूहसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरको व्यवसायिक सम्बन्ध र स्वार्थ रहेको र उनको नेतृत्वमा भइरहेको अनुसन्धान कमजोर हुने आशंका गरिएको छ। भट्ट र शंकर समूहको सेटिङमा खडा गरिएको हिमालय रि-रिइन्स्युरेन्स २० हजार कित्ता संस्थापक शेयर महानिर्देशक ठाकुरकी श्रीमती राखीको नाममा रहेकाले अनुसन्धानमा उनले खेल्ने भूमिकामाथि आशंका र प्रश्न उब्जिएको हो।

विवादित हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर श्रीमतीको नाममा लिएका महानिर्देशक ठाकुर दोहोरिए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका थिए। आफू समेत मुछिएपछि भट्टसँग ‘भित्री कारोबार’मा संलग्न धेरै कर्मचारीलाई जोगाउन उनी सक्रिय रहेको बताइन्छ। भट्टसँगै बयान लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाललाई समेत जोगाउन चलखेल गरिरहेको स्रोतले बतायो। दिपक भट्ट र शंकर समूहमाथि बलियो मुद्दा लान महानिर्देशक ठाकुरलाई हटाएर अर्को कनेक्सन नभएको सहसचिव ल्याउनु पर्ने देखिन्छ। स्वार्थ जोडिएका ठाकुरले उक्त समूहमाथि गरिरहेको अनुसन्धानमै प्रश्न उठेकाले निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि महानिर्देशक ठाकुरलाई हटाउनु पर्ने आवज उठ्न थालेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #गजेन्द्रकुमार ठाकुर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ