सेटिङ मिलाएर मन्त्रीको सचिवालयमा बसेका पोख्रेल र ओली नगरपालिकामा भए हाजिर


काठमाडौं। स्थानीय तहमा सरूवा भएर पनि सेटिङ मिलाएर ६ महिना बढी मन्त्रीको सचिवालयमा बसेका सरोजकुमार पोख्रेल र अर्जुन सेन ओली नगरपालिकामा हाजिर भएका छन्। मन्त्रीको सचिवालयमा बसेर स्थानीय तहमा जान नखोजेका पोख्रेल र ओली सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एक्सन लिने तयारी थालेपछि हाजिर भएका हुन्।

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाको निजी सचिव बनेर बसेका पोख्रेल बैतडीको पुर्चौडी नगरपालिकामा हाजिर भएका छन्। उद्योग विभागमा लामो समय बसेर रजगज गरेका पोख्रेलको पुर्चौडीमा सरूवा भएपनि सेटिङ मिलाएर उद्योगमन्त्री सिन्हाको निजी सचिव बनेर बसेका थिए। मन्त्री रावलले कारबाही गर्ने चेतावनी दिएपछि शक्तिशाली उपसचिव पोखरेल पुर्चौडीको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएका हुन्।

उद्योग विभागबाट अछामको साँफेबगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका अर्जुन सेन ओली सेटिङ मिलाएर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सिन्हाको निजी सचिव बनेका थिए। शक्तिको भरमा पर्यटन पुगेका ओली पनि मन्त्री रावलको चेतावनीपछि साँफेबगर पुगेका छन्। मन्त्रीको निजी सचिवको हैसियतमा ‘लियाजो अफिसर’ बनेपछि मात्र उनी साँफेबगर नगरपालिकामा हाजिर भएका हुन्।

खेलकुदमन्त्रीको सचिवालयमा रहेका मोहन निरौला पनि सिरहाको धनगढीमाई नगरपालिकामा हाजिर भइसकेका छन्। मन्त्रीको सचिवालयमा बसेका शक्तिशाली उपसचिवहरू सरूवा भएको स्थानीय तहमा हाजिर भइसक्दा पनि केही उपसचिवहरू सरुवा भएको स्थानीय तहमा नगइ सिंहदरबारमै डेरा जमाएर बसिरहेका छन्। उनीहरूलाई तत्काल खटाएको स्थानीय तहमा पठाउन मन्त्री रावलले अर्को एक्सन लिन आवश्यक देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन सेन ओली, #मोहन निरौला, #सरोज कुमार पोख्रेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ