यी हुन् एक वर्षभन्दा बढी प्रदेशमा बसेर फर्किएका बहालवाला सचिवहरू


काठमाडौं। सरकारले सचिवमा बढुवा भएपछि एक वर्ष प्रदेशमा बस्नु पर्ने गरी कानुनको मस्यौदा तयार गर्दैछ। सचिवमा बढुवा भएपछि अनिवार्य प्रदेशमा पठाउने गरिएपनि कृष्णहरि पुष्कर कर्ण प्रदेश नै गएनन्। महालेखा नियन्त्रक शोभाकान्त पौडेल एक महिने ‘टुरिष्ट प्याकेज’ बनाए जस्तो गरेर पोखरा पुगेर फर्किए। करिब एक दर्जन सचिवहरू एक वर्षभन्दा कम अवधि प्रदेशमा बसेर फर्किएको देखिन्छ।

प्रशासन सेवामा झन्डै एक दर्जन सचिव भने एक वर्ष पूरा गरेर संघमा फर्किएको देखिन्छ। प्रदेशमा एक वर्ष पूरा गरेर फर्किने सचिवहरूमा रविलाल पन्थ, मुकुन्दप्रसाद निरौला, दिपक काफ्ले, चूडामणि पौडेल, केदारनाथ शर्मा, नारायणप्रसाद शर्मा दुवाडी, कमलप्रसाद पोखरेल, कृष्णबहादुर राउत, लक्ष्मीकुमारी बस्नेत र महादेव पन्थ रहेका छन्। गृह सचिव राजकुमार श्रेष्ठ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराम शर्मा भनेर एघार महिनामै संघमा फर्किएको पाइन्छ। महिनाले गर्दा उनीहरू एक वर्ष पूरा गर्न नभ्याएका सचिवमा पर्छन्।

सबैभन्दा लामो समय प्रदेशमा बस्ने सचिव रविलाल पन्थ हुन्। हाल राष्ट्रिय योजना आयोगका सचिव रहेका पन्थ २० महिना गण्डकी प्रदेशको प्रमुख सचिवको भूमिकामा कार्यरत रहेर संघमा फर्किएका हुन्। २०७८ मंसिर १ गतेदेखि २०८० साउन ५ गतेसम्म २० महिना गण्डकी प्रदेश बसेर संघमा फर्किएका थिए। असोज अन्तिम साता ५ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका सचिव पन्थले डेढ वर्ष बढी समय प्रदेशमै सेवा गरेर बिताएको पाइन्छ।

पन्थपछि बहालवाल सचिवमा बढी समय प्रदेशमा समय दिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला रहेका छन्। निरौला २०७८ फागुन १२ गतेदेखि २०८० साउन ६ गतेसम्म झन्डै १७ महिना बागमती प्रदेशको प्रमुख सचिव भूमिकामा काम गरेर संघमा फर्किएका हुन्। पन्थपछि लामो अवधि प्रदेश बस्ने सचिवमा निरौला पर्छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दिपक काफ्ले पनि निरौला कै हाराहारीमा प्रदेश बस्ने सचिवमा पर्छन्। काफ्लेले करिब ८ महिना लुम्बिनी र करिब ९ महिना कोशी प्रदेशको प्रमुख सचिव भएर काम गरे। काफ्ले २०७९ साउन २३ गतेदेखि २०७९ चैत १७ गतेसम्म करिब ८ महिना लुम्बिनी र २०७९ चैत २० गतेदेखि २०८० पुस ९ गतेसम्म करिब ९ महिना गरी साढे १६ महिना प्रदेशको प्रमुख सचिवमा काम गरेर संघमा फर्किएका हुन्।

शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल साढे १६ महिना कर्णाली प्रदेशको प्रमुख सचिव भएर संघमा फर्किएका थिए। चूडामणि २०८० भदौ २४ गतेदेखि २०८१ माघ ३ गतेसम्म साढे १६ महिना बढी कर्णाली प्रमुख सचिव भएर संघमा फर्किएका हुन्।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा १५ महिना कोशी प्रदेशमा बसेर संघमा फर्किएका थिए। सचिव शर्मा २०८० माघ ११ गतेदेखि २०८२ वैशाख १३ गतेसम्म १५ महिना बढी कोशी प्रदेशको प्रमुख सचिव भएर संघमा फर्किएका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी १४ महिना बढी सुदूरपश्चिम प्रदेश प्रमुख सचिवको भूमिकामा काम गरेका थिए। सचिव दुवाडी २०७९ भदौ १५ गतेदेखि २०८० कार्तिक २४ गतेसम्म १४ महिना बढी सुदूरपश्चिम प्रदेश प्रमुख सचिव भएर संघमा फर्किएका हुन्।

सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत १४ महिना गण्डकी प्रदेशको प्रमुख सचिव भएकी थिइन्। बस्नेत २०८० साउन ११ गतेदेखि २०८१ असोज २ गतेसम्म करिब १४ महिना गण्डकी प्रदेशको प्रमुख सचिव भएर संघमा फर्किएकी हुन्।

मधेश प्रदेशमा सबैभन्दा बढी प्रमुख सचिव भएर बस्ने कृष्णबहादुर राउत हुन्। उनी २०७८ माघ २१ गतेदेखि २०७९ चैत १६ गतेसम्म करिब १४ महिना मधेश प्रदेश प्रमुख सचिव भएर बसेका हुन्। राउत हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी रहेका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव कमलप्रसाद पोखरेल झन्डै १४ महिना सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भएका थिए। पोखरेल २०८१ असोज २ गतेदेखि २०८२ कार्तिक २५ गतेसम्म करिब १४ महिना सुदूरपश्चिम प्रदेश प्रमुख सचिव भएर संघमा फर्किएका हुन्।

राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थ १ वर्ष प्रदेश बिताएर संघमा फर्किएका थिए। महादेव २०८१ जेठ ८ गतेदेखि २०८१ माघ ६ गतेसम्म ८ महिना लुम्बिनी प्रदेशको प्रमुख सचिव र २०८१ माघ ९ गतेदेखि २०८२ जेठ १६ गतेसम्म ४ महिना बढी बागमती प्रदेशको प्रमुख सचिव गरी १ वर्ष प्रदेशमा बसेर संघमा फर्किएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मा २०७८ भदौ ११ गतेदेखि २०७९ साउन २२ गतेसम्म झन्डै साढे ११ महिना लुम्बिनी प्रदेशको प्रमुख सचिव भएर संघमा फर्किएका हुन्। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ २०७८ भदौ ३० गतेदेखि २०७९ साउन ६ गतेसम्म ११ महिना बढी कर्णाली प्रदेशको प्रमुख सचिव भएर संघमा फर्किएका थिए। उनीहरू दुबैजना भदौमा ५ वर्ष पूरा गरेर घर जाने तयारीमा छन्।

रविलाल पन्थ, मुकुन्दप्रसाद निरौला, दिपक काफ्ले, चूडामणि पौडेल, केदारनाथ शर्मा, नारायणप्रसाद शर्मा दुवाडी, कमलप्रसाद पोखरेल, कृष्णबहादुर राउत, लक्ष्मीकुमारी बस्नेत र महादेव पन्थबाहेकका अन्य प्रशासन सेवामा सचिवहरू एक वर्ष नपुगी प्रदेशबाट संघमा फर्किएका हुन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #एक वर्ष बढी प्रदेशमा बस्ने सचिवहरू, #कमलप्रसाद पोखरेल, #कृष्णबहादुर राउत, #केदारनाथ शर्मा, #चूडामणि पौडेल, #दिपक काफ्ले, #नारायणप्रसाद शर्मा दुवाडी, #महादेव पन्थ, #मुकुन्दप्रसाद निरौला, #रविलाल पन्थ, #लक्ष्मीकुमारी बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ